Harsamaya

काठमाडौं - काठमाडौं महानगरपालिकाले नदी सरसफाइका क्रममा विष्णुमती नदी खण्डमा मूर्ति भेटेको छ । सो नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको  विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णयसमेत गरिएको महानगरले जनाएको छ ।  

महानगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार स्थानीयले दाबी गरेको स्थानको मूर्ति हो कि होइन भन्नेबारे पुरातत्व विभागबाट अध्ययन गरेर पेस गर्ने तयारी रहेको छ । स्थानीय र सम्पदा अभियन्ताहरूले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) हो भनेर दाबी गरेका छन् । यो दाबीपछि भेटिएको मूर्ति पूर्ववत् स्थानमा फर्काउन सकियोस् भनेर अध्ययन थालिएको महानगरले जनाएको छ  ।

महानगरका सम्पदा सल्लाहकार यादवलाल कायस्थले पनि उक्त मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारामा भएको भीममुक्तेश्वर मन्दिरको भएको दाबी गरे ।  विसं २०७८ चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update