Harsamaya

काठमाडौं - उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु भएको छ । आगलागीमा १०० भन्दा बढी घाइते भएको बिबिसीले उल्लेख गरेको छ ।

देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको बताइएको छ । यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरहरूमा आगो र धुवाँले भरिएको एउटा भवन देखिन्छ ।

प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार आइतबार बिहान करिब ३ बजे आगलागी भएको थियो । यो दुर्घटना ब्यान्ड एडीएनको प्रस्तुतिको क्रममा भएको थियो ।

यस ठाउँबाट धेरै घण्टासम्म आगोको ज्वाला उठिरह्यो । उक्त समारोहमा करिब १ हजार ५०० जना उपस्थित भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले आगलागी आतिशबाजी उपकरणहरूबाट भएको हुन सक्ने बताएका छन्।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update