
छट्पटीमा कयौं रात बिते
नगरेकाे गल्ती
नखाएकाे विस लागेको थियो
म सँग स्पष्टीकरणका कुनै शब्द पनि थिएनन्
म वर्तमानमा बाँच्न खाेज्थे
उ चिहान कोट्याइरहथ्याे ।
वर्तमानमा पाएको थियाे अथाह माया
उसलाई त्याे बाँच्नु नै थिएन
माटाे भएका चिहानका डाेबहरुप्रति उसलाई आपत्ति थियो
फिक्री थियाे भोलिको
तर, यो सुनाैलाे पललाई कुल्चिएर,
थुकेर
फेरि फेरि उ,
चिहान कोट्याइरहन्थ्यो
चिहान आफैंमा डरलाग्दो थियो
जहाँ भूतप्रेतको बास थियो
तर पनि उ त्यहीँ वरिपरि खोतल्थ्यो चिथोर्थ्यो
अनि भेट्टाउथ्यो एक टुक्रा हड्डी
जसले उसको आफ्नो प्रेमलाई मन्द विस खुवाउँदै थियो
प्रेम पहिला जस्तो चहकिलो थिएन
चिहानको एक एक बुँद मिट्टीले
लाटो भईसकेको थियो ।
लठ्ठिसकेको थियो ।
चिहानमा तालाचाबी लगाएकाे थियो
विश्वासले खोलिदिएकाे थियो गेटपालेले
अझ भनाै चाबी नै सुम्पिएको थियो
भनेको पनि थियो
चिहान चिहान हो तर्साउन सक्छ
डराउन सक्छ
तिमी निडर हुनु अझ चिहानको वरिपरि नजानू।
तर, उ के मान्थ्यो
प्रत्येक चिहान खोतल्दै
अनुमान लगाउथ्यो
तिमी अरु जस्तै भएर मर्याै ?
तर, तिमीले सोचेको चिहान
अनि,
मैले पुरेको चिहानको अनुभूति फरक थियो ।
तिमी जिद्दी छाैं मानेनाै
साबेल , बेल्चाले कोतरिरह्याै,
चिहानको विषेशता हो
डरलाग्दो हुनु
तर्साउनु र डराउनु
सम्हाल्नु आफूलाई
वर्तमान जतिनै सुनाैलो होस्
चिहानको छाँयाले खाईदिन्छ
र,
एकदिन वर्तमान फेरि चिहान हुनेछ ।