Harsamaya
श्रीकृष्ण रत्नगंगा माविको विव्यसमा सत्ताधारी दल पराजित, कसले मार्यो बाजी ?  ​
श्रीकृष्ण रत्नगंगा माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनपछि ।

सिन्धुपाल्चोक - जिल्लाको सबैभन्दा पुरानो विद्यालय श्रीकृष्ण रत्नगंगा माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको समर्थन पाएका व्यक्तिहरू निर्वाचित भएका छन्।

हिजो भएको निर्वाचनमा माओवादी र समाजवादीको समर्थन पाएका  राजन बुढाथोकीले सबै भन्दा बढी ३ सय ९६ मत ल्याए। त्यस्तै सोही प्यानलबाट निर्मला श्रेष्ठले ३ सय ८२ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र इश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत ल्याए ।

सत्ता साझेदार रहेका नेकपा एमाले र नेपाली कांग्रेसका लजिता श्रेष्ठले ३ सय ३९ मत ल्याएकी थिइन् भने सोही प्यानलबाट बिन्दा पुरीले ३ सय २४ मत ल्याइन् । त्यस्तै निमेश श्रेष्ठले ३ सय २२ मत ल्याउँदा निमा लामाले २ सय ७७ मात्रै मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार संसार श्रेष्ठले ६० मत ल्याउँदा अर्का स्वतन्त्र उम्मेद्वार रविन श्रेष्ठले ५४ मत ल्याए ।

१ हजार ३ सय ८९ अभिभावकहरू मतदाता रहेको निर्वाचनमा ८ सय ६४ मत खसेको थियो । निर्वाचनमा ४ सदस्यको लागि १० जनाको प्रतिष्पर्धा भएको थियो । 

विव्यस छनोटमा पार्टी निकटका उम्मेदवारलाई जिताउनका लागि प्रमुख राजनीतिक दलहरूले विज्ञप्ति निकालेर सबै मतदाताहरूलाई अनुरोध समेत गरेका थिए । जिल्लाका पुरानो र सबैभन्दा बढी अभिभावकहरू भएको विद्यालयको नेतृत्व आफूहरूको पक्षमा पार्नका लागि प्रमुख राजनीतिक दलका नेताहरू नै मैदानमा उत्रिएका थिए । 

दुबै पक्षले आफूहरूको प्यानलले जित्ने दाबी गर्दै आएका थिए । केन्द्रीय सत्तामा एमाले र कांग्रेसबीच गठबन्धन भएपछि सिन्धुपाल्चोकमामा पनि सबै क्षेत्रमा कांग्रेस र एमालेबीच सहकार्य हुँदै आएको थियो ।

विव्यस छनोटमा अभिभावकहरुबीच छलफल हुँदा ५० बढीले अध्यक्षमा आकांक्षा राखेपछि निर्वाचन मार्फत विव्यस छनोट गरिएको विद्यालयका प्रधानध्यापक डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । चार जना सदस्य निर्वाचनबाट छनोट भएपछि नगरपालिकाबाट मनोनीत हुने, विद्यालयका प्रधानध्यापक लगायत सदस्यहरूबाट अध्यक्ष छनौट हुने छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update