
काठमाडौं - समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत्र १५ गते काठमाडौंमा विरोध प्रदर्शन सहितको जनसभा आयोजना गरिएको जनाएको छ ।
शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समाजवादी मोर्चाले गणतन्त्रको रक्षाको निम्ति प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रका विरुद्ध चैत्र १५ गते काठमाडौंमा विरोध प्रदर्शन सहितको जनसभा आयोजना गरिएको जनाएको हो ।
मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना र भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त भएको समेत जनाएको छ । सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको भन्दै मोर्चाले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको आरोप लगाएको छ ।
सरकारको कुशासन र अस्त व्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको मोर्चाको ठहर छ । पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको प्रदर्शनले झस्केको नभइ गणतन्त्रका पक्षधरहरूले जनतासमक्ष त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको जानकारी दिए ।
प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे । उनले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले पुँजीवादी व्यवस्थालाई परिवर्तन गनुपर्ने भन्दै सामन्तवादको व्यवस्थामा भने फर्कन नहुने जिकिर गरे । व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर नभइ अग्रगमनतिर आउन उनले आह्वान गरे ।
समाजवादी मोर्चाले जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षडयन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरू लागिपरेको भन्दै सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य कार्यभार रहेको मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।