
भक्तपुर - बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसहितको उच्चस्तरीय टोलीले भक्तपुर अस्पतालको आकस्मिक अनुगमन गरेको छ। प्रदेशस्तरीय अस्पतालमध्ये उत्कृष्ट घोषित यस अस्पतालको सेवा, व्यवस्थापन, तथा भविष्यका योजनाबारे समीक्षा गरिएको छ।
स्वास्थ्य मन्त्री थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले ल्याब, ओपीडी, फार्मेसी, आईसीयू, सिटी स्क्यान जडान कक्ष लगायतका स्थानहरूको निरीक्षण गर्दै बिरामीहरूसँग सेवा सुविधाबारे प्रतिक्रिया लिएका थिए।
मन्त्रीको कडा चेतावनी: राम्रा काम नगर्नेहरू सरुवा हुने
अनुगमनपछि मन्त्री थापा मगरले कार्यशैलीमा सुधार नगर्ने कर्मचारीलाई प्रदेशका अन्य १३ जिल्लाका अस्पतालमा सरुवा गरिने चेतावनी दिए। साथै, भक्तपुर अस्पतालमा छिट्टै मेमोग्राम मेशिन जडान गरिने, आँखा उपचार सेवा विस्तार गरिने, १०० शय्या माथिका अस्पताललाई नर्सिङ कक्षा सञ्चालन गर्न दिइने, र मापदण्ड पूरा नगर्ने अस्पतालहरूको दर्ता तथा नविकरण रोक्ने निर्णय सुनाए।
शय्या नबढाए घटाउने चेतावनी
स्वास्थ्य सचिव डा. गौतमले भक्तपुर अस्पताललाई प्रदान गरिएको ३०० शय्याको सम्बन्धन अनुसार पूरा सेवा नदिएमा शय्या घटुवा गरिने चेतावनी दिए। साथै, १३ वर्षदेखि सञ्चालनमा रहेको मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई तोकिएको भवन खाली गर्न निर्देशन दिने बताए।
सुधारका प्रयास: अस्पतालमा क्याबिन संख्या बढ्ने
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशिजङ्ग थापाले अहिले रहेको चार क्याबिनलाई १० पुर्याउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताए। यसैबीच, अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले दैनिक एक हजारभन्दा बढी बिरामी सेवा लिन आउने तथ्याङ्क प्रस्तुत गर्दै थप सुधारका प्रयास भइरहेको जानकारी दिए।