काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन संसदको अगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सेवा प्रदायक र नियमन निकायलाई फरक फरक गर्ने गरि बनाइएको विधेयकलाई सदनको आगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका हुन् ।
उहाले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी दिए । अन्तर मन्त्रालय र अन्तर निकायलाई समन्वयकारी रुपमा अघि बढाउन सके सहज रूपमा काम कारबाही गर्न सकिने उनले बताए ।
पोखरा र भैरहवाको विमानस्थल नियमित संचालनका लागि समीक्षा भइरहेको भन्दै मन्त्री पाण्डेले केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुने दाबी गरे ।
बैठकमा समिति सदस्य पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका काममा बिलम्व भएकाले छिटो भन्दा छिटो निर्माण कार्य अघि बढाउन सुझाव दिए । उनले पशुपति लगायतका स्थानबाहिर फोहर देखिएकाले पर्यटकहरू आइसकेपछि बस्ने र घुम्न जाने ठाँउलाई सुन्दर बनाउनुपर्ने सुझाव दिए ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले मन्त्रालयका काम कारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको सिमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको बताएका थिए ।