Harsamaya
बागलुङ-पोखरा चल्ने इभीको भाडा घट्यो
विद्युतीय (इभी) माइक्रो बस। तस्वीर: हर समय/Har Samaya

बागलुङ - गण्डकी यातायात सेवा प्रालि बागलुङले सञ्चालन गरेको विद्युतीय (इभी) माइक्रो बसको भाडादर समायोजन गरेको छ। प्रालिले बागलुङ-पोखरा विद्युतीय माइक्रो बस सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको जानकारी गराएको हो ।

यसअघि लिँदै आएको भाडामा ५० रुपैयाँ घटाएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए । बागलुङ-पोखरा भाड़ा चार सय ५० रुपैयाँ रहेकोमा चैत १ गतेदेखि चार सय रुपैयाँ लागू हुनेछ । त्यसैगरी, म्याग्दी-पोखरा पनि पाँच सय ५० रुपैयाँबाट घटाएर पाँच सय रुपैयाँ कायम गरिएको अध्यक्ष केसीले बताए ।

बागलुङ-पोखराका लागि गत वर्ष फागुपूर्णिमाकै दिन विद्युतीय माइक्रो बस सेवा सञ्चालन गरिएको थियो । सुरुवाती चरणमा दुईवटा बसबाट सेवा सञ्चालन गरेको बागलुङ- पोखराका लागि हाल २० वटा माइक्रो बस सञ्चालनमा आएका छन् । 

प्रालिले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँचवटा बस सञ्चालन गरेको छ भने बागलुङ- नारायणगढका लागि पनि पाँचवटा बस सञ्चालनमा ल्याएको अध्यक्ष केसीले जानकारी दिए । विद्युतीय सवारीसाधनको बढ्दो माग र प्रयोग हुन थालेपछि प्रालिले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update