Harsamaya
बिजुली पुगेको छैन ? प्राधिकरणलाई खबर गर्नूस् 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

अर्घाखाँची - अर्घाखाँचीको कुनै गाउँ वा टोलमा विद्युत् नपुगेको भए खबर गर्न नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची शाखाले आग्रह गरेको छ । 

जिल्लाका ९९ प्रतिशत बढी घर धुरीमा विद्युत् पुगेको अवस्थामा कुनै स्थानीय तहको टोल वा गाउँमा विद्युत् नपुगेको भए जानकारी दिन विद्युत् प्राधिकरण अर्घाखाँची शाखाले सार्वजनिक सूचना जारी गरेको शाखा प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले बताए ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लामा यस आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेकोले कहीँ कतै कुनै गाउँ वा टोल छुटेको भए चैत ३ गतेभित्र जानकारी दिन सार्वजनिक सूचना जारी गरेको सूचना अधिकारी खिमराज आचार्यले जानकारी दिए ।

जिल्लाभर झन्डै ३९ हजार घरधुरीमा मिटर जडान गरिएको छ । चार वटा सबस्टेसन र छिमेकी जिल्लाका सबस्टेसनबाट बिजुली आपूर्ति भइरहेको बताए । केन्द्रले विद्युतीय वितरण प्रणालीलाई सुरक्षित बनाउँदै विद्युतीय घटनालाई शून्यमा झारेको प्राधिकरणका प्रमुख इन्जिनियर भट्टराईको भनाइ छ ।

त्यस्तै विद्युत् वितरण प्रणालीलाई सुरक्षित तथा जोखिममुक्त बनाउन बजार क्षेत्र र घनाबस्ती भएका क्षेत्रहरूमा नांगो तारहरूलाई विस्थापित गरी कालोतार जडान गर्ने काम तीव्र रूपमा अगाडि बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update