Harsamaya
चैतमा पनि बैंकको ब्याजदर घटेन
कुमारी बैंक लिमिटेड ।

काठमाडौं - वाणिज्य बैंकहरूले चैत महिनाका लागि निक्षेपको ब्याजदर यथावत् राखेका छन् । चैतका लागि निक्षेपको ब्याजदर सार्वजनिक गरेका बैंकहरूले फागुनको ब्याजदरलाई निरन्तरता दिएका छन्। 

केही महिनाअघि ब्याजदर निरन्तर घट्दै आएकोमा पछिल्ला दुई महिनामा ब्याजदर स्थिर देखिएको छ । बैंकहरूको निक्षेपको औषत ब्याजदर ४.६२ प्रतिशत रहेको छ । बैंकहरूले चैतका लागि संस्थागत मुद्दती निक्षेप ३.५ प्रतिशतदेखि ५.६ प्रतिशतसम्म ब्याज तय गरेका छन् । बैंकहरूले ५.५ प्रतिशतदेखि ६.६ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् । 

व्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर एक प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था छ । बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपतर्फ एनएमबि र एनआइसी एसिया बैंकले सबैभन्दा धेरै ६.६ प्रतिशत ब्याजदर दिने भएका छन् । 

त्यसैगरी, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत, कुमारी बैंकले ६.०१ प्रतिशत, ग्लोबल आईएमई, माछापुच्छ्रे, सिद्धार्थ बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, नेपाल बैंक लिमिटेड, नेपाल एसबिआई र हिमालयन बैंकले ५.५ प्रतिशत अधिकतम अवधिको मुद्दती निक्षेपमा ब्याज दिने भएका छन् । सिटिजन्स इन्टरनेसनल बैंकले ५.६५ प्रतिशत र कृषि विकास बैंकले ५.५१ प्रतिशत व्यक्तिगत मुद्दती निक्षेपतर्फ ब्याज दिएका छन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै बैंकहरूले निरन्तर ब्याजदर घटाउँदै आएका थिए। खराब कर्जा बढेको र केही बैंकहरूको पुँजीकोषमा दबाब परेकाले कर्जा प्रवाह बढ्न नसकेको भन्दै ब्याजदर घटाएको भए पनि अहिले यथावत् राखेका छन् । बैंकहरूले तीन प्रतिशतमा राष्ट्र बैंकमा निक्षेप राख्नुभन्दा लागतमै कर्जा प्रवाह गर्दा फाइदा हुने भन्दै प्रिमियम दर नै नजोडी कर्जा प्रवाह गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update