Harsamaya
जहाज बिग्रिएपछि दुई महिनादेखि टरिगाउँमा गएन विमान
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - विसं २०११ देखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलमा पछिल्ला दुई महिनादेखि उडान रोकिएको छ । नेपाल वायु सेवा निगमको जहाज २०८१ पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो । 

नेपाल एयरलाइन्स तुलसीपुरका प्रतिनिधि बलबहादुर सुनारका अनुसार निगमका साना दुई वटा जहाज बिग्रिएका कारण उडान बन्द भएको छ। उनले आगामी १५ दिनभित्रै जहाज मर्मत भई पुनः नियमित उडान सञ्चालनमा आउने बताए । 

टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएको थियो । २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो। सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो। पछिल्लो समय नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान गर्दै आएकामा हाल दुई महिनादेखि पूर्ण रूपमा उडान बन्द रहेको छ।

टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानस्थल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनले जानकारी दिइन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update