
नुवाकोट - नुवाकोट आर्दश बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अन्योलमा परेको छ। निर्वाचन समितिका संयोजक पूर्ण बहादुर सडौलाले आकस्मिक राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको हो।
क्याम्पस प्रमुख नारायणमान डंगोलले अर्को निर्वाचन समिति गठन नहुन्जेल सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्। निर्वाचन अघि बढाउन वातावरण तयार गरिए पनि निर्वाचन समितिले जिम्मेवारी लिइनसकेको कारण प्रक्रिया रोकिएको हो।
निर्वाचनको विषयलाई लिएर क्याम्पसमा असहज स्थिति नहोस् भन्ने उद्देश्यले संशोधित विधानअनुसार क्याम्पस आगामी चैत्र ६ गतेसम्मका लागि बन्द गरिएको छ। अहिले विद्यार्थी र क्याम्पस प्रशासन दुवै अन्योलमा छन्। नयाँ निर्वाचन समिति कहिले गठन हुन्छ भन्ने टुंगो नलागेपछि विद्यार्थीहरूमा अन्योल बढेको छ।