Harsamaya
फिल्म समीक्षा : एउटा मुटु छेड्ने कथा  ‘लाज शरणम्’
ग्राफिक्स : हर समय/Har Samaya

सिनेमाको पर्दामा कहिलेकाहीं यस्ता कृतिहरू जन्मिन्छन्। जसले केवल कथा मात्र भन्दैन, मनमुटु भित्र सम्म पुर्या्एर गहिरो कम्पन गराइदिन्छ। ‘लाज शरणम्’ त्यस्तै एउटा सिनेमा हो, जसले मानवीय संवेदना, समर्पण र समाजको कठोर यथार्थलाई उजागर गर्छ। जसले हाम्रा मूल्य, संस्कार र समाजको ऐना छर्लङ्ग देखाउँछ। यस फिल्मले आम नेपालीको संघर्ष, समाजको निर्दयी दृष्टिकोण र मुख्यतः कर्णालीको गहिरो पीडाको जीवन्त चित्रण प्रस्तुत गरेको छ ।

‘लाज शरणम्’ मा कर्णाली र वैदेशिक रोजगारीको कथा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ। यो चलचित्रमा कथा कसको माथि छ र को मुख्य भूमिकामा छ भने कुरा पत्ता लाग्दा नलाग्दै रोचक ढंगमा चलचित्र सकिन्छ। 

आबारु खुस्किएको राजनीति, वैदेशिक रोजगारी, गरिबी र दुर्गम गाउँको एक कथालाई मन र मस्तिष्कमा सोच्न बाध्य बनाएर दर्शकलाई घर पठाउन सफल भएको चलचित्र हो ‘लाज शरणम्’। वर्षभरिमा हल खचाखच भरिएर दर्शक आउने खालका चलचित्र कमै बन्छन्। त्यही कम स्थानमा आफ्नो स्थान ‘लाज शरणम्’ ले सुरक्षित गरेको छ। 

बौद्धको मनमोहक दृश्य देखाए पश्चात् चलचित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन्छ। जहाँ कुमारी आचार्य शाखा अधिकृत (सक्किगोनीको कलाकार मुन्नी) ले बिजे बाबु (सागर लम्साल ‘बले’)को हातमा शव लाने अनुमति पर्चा दिए पश्चात् सुरु हुन्छ। 

पहिलो दृश्यमै शवको बाकस देखाइन्छ र पाँडे(अर्जुन घिमिरे) र उनका पत्नी (सितादेवी  तिमल्सिना ‘चन्द्रमुखी’) निकै हारगुहार गरि कफिनलाई अङ्गालो हाल्दै रुन्छन्। शवलाई एम्बुलेन्समा राख्छन् र गुर्जु दादा(अर्पण थापा)को काठ गोदाम पुग्छन्। जहाँ कफिन भित्र नक्कली पुतला भित्र सुनैसुन हुन्छ। जुन दृश्यले तस्करीको नयाँ माध्यम देखाउँछ। पाडे सधैँ झै उटपट्याङ क्रियाकलापमा संलग्न भएका हुन्छन्। उनले आफ्नो नाटक गरे बापतको पैसा लिएर जान्छन्। फिल्ममा पनि सिरियलकै ‘गेटअप’मा देखिएका उनलाई कतिले नयाँ शैलीमा अभिनय गर्न नखोजेको र डराएको दाबी गरेका छन्। 

सक्किगोनी टिमकै प्रस्तुति भएका कारण धेरै कलाकार सिरियलबाट तानिएका छन्। दिपक आचार्य ‘काकु’, रक्षा श्रेष्ठ, गोविन्द कोइराला ‘जयन्ते’, सुरक्षा इटनी, बबिन राई , सुवोध गौतम ‘एकदुमे’, रश्मी पाण्डे ‘माकुरी’, गजित बिस्ट ‘जेठान’, अशोक धिताल ‘बाहुन डन’, भावना आचर्य ‘लुरी’ आदि भने चलचित्रमा देखिएका छैनन्। 

शीर्ष भूमिकामा देखिएको पात्र हुन सोनालाल (सिताराम कटेल ‘धुर्मुस’)। जसको दमदार एन्ट्री कालो रङ्गको दीपाल इभी गाडीमा हुन्छ। सीताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टर पूर्वमन्त्री मोहम्मद अफताब आलमजस्तै देखिएको छ। जो सुन तस्करीपश्चात् मिठाई लिएर लगानी तथा विकास मन्त्रालयका मन्त्री चन्द्र बहादुर (मुकुन्द श्रेष्ठ) भेट्न पुग्छन्। उनले यो चलचित्रको लागि आफ्नो १२ केजी वजन बढाएको दाबी गरेका छन्। 

मन्त्री, व्यापारी र काठ उद्योगी गरी तीन जनाको शवको बाकसमा सुन भित्र्याउने ठूलो धन्दा हुन्छ। यो उनीहरूको नियमित धन्दा हो । जसमा सुन नेपाल भित्र्याएर विदेश सप्लाई गर्छन्। पहिलो पटक झैँ दोस्रो पट्क शव गोदाम आइपुग्दा यसपालि सुनको पुत्लाको बदला शवनै आइपुग्छ र फिल्मले गति लिन्छ। मन्त्री र व्यापारीसँगै माला लिम्बू ‘मिली’ लाई छोटो कपडामा देखाइन्छ। जसको शरीर प्रदर्शनी र मन्त्रीलाई खुसी पार्ने बाहेक अरू खासै भूमिका हुन्न। 

सुनको सट्टा शव आएपछि सोनालाल हतासिदैं मन्त्री कहाँ पुग्छन्। जहाँ मन्त्री ‘नेपाल इन्भेस्टमेन्ट समिट २०२४’ को कार्यक्रममा अङ्ग्रेजीमा भाषण दिँदै हुन्छन्। टुटे फुटेका अङ्ग्रेजीमा खुल्लम खुल्ला भाषण गर्दै नेताको भूमिका निभाएका हुन्छन्। ‘परपटी’, ‘इदर-तिदर’, ‘रिभरअ’, आदी जस्ता शब्दले उपस्थित सबै देशका प्रतिनिधिलाई पेट मिचीमिची हँसाउँछन्। तर, दर्शकलाई खिस्स मात्र हँसाउँछन्। 

कतिले गत जुलाई २४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य विमान दुर्घटनाबारे काङ्ग्रेस नेता रामहरि खतिवडाले भारतीय मिडियालाई अङ्ग्रेजीमा घटना विवरण दिएको भव्य व्यंग्य गरेको दाबी गरेका छन्। टुटे फुटेका अङ्ग्रेजी र अगतिलो बोल्ने लवजले सांसद तथा नेताको शैक्षिक योग्यता प्रष्ट पार्ने कोसिस गरेको देखिन्छ। जुन निर्देशकले समसामयिक रूपमा प्रस्तुत गरेका छन्। 

विदेशबाट आएको कुनै पाँच शवसँग आफ्नो सुनको कफिन साटिएको थाहा पाएपश्चात् शव खोजी कार्य तीव्र हुन्छ। जहाँ जेपीटी क्रिएशन चिप्लिएको छ। पाँच ठाउँमा शव पुग्छ तर खोजी दुई स्थानमा हुन्छ। अन्य ठाउँको दृश्य छैन। कफिनसहितको गाडी खोलामा खसेको समाचार पाएपछि मन्त्री, सोनालाल घटनास्थल पुग्छन्।  जहाँ कफिन त भेटिन्छ तर त्यसमा सुन भेटिदैंन। सोही स्थानमा सक्किगोनीका प्रहरी बनेका पुरुषोतम आचार्य एपीएफको बर्दीमा तारा प्रसाद पोखरेल नाममा ड्युटीमा खटिएका देखिन्छन्। यही वर्ष सिमल तालमा पहिरोले बगाएर दुईवटा यात्रुबाहक बस त्रिशूलीमा बगेको घटनामा भएको राजनीतिक झल्को थोरै समावेश गरेको छ। 

सोही स्थानबाट खाली हात काठमाडौं फर्किदैं गर्दा दिपाल गाडीमा बस्न अप्ठ्यारो भएको, वान्ता गरेको दृश्य देखाउँदै गाडीको नेगेटिभ प्रचारप्रसार जान अन्जानमा भएको छ। जसले गाडी किन्नु अघि ग्राहकलाई एक पटक सोच्न बाध्य बनाउँछ। 

अर्कोतर्फ भने सुन भएको शव कर्णालीतर्फ जाँदै गरेको हुन्छ। उक्त शव किरण रोकायाको हुन्छ। पूर्व घर भएका बिजय बराल ‘तुले’ किरणका नाताले भाइ हुन्छन्। कमलमणी नेपाल ‘खुपीका बाउ’ मृतकका बा हुन्छन् र मृतकको श्रीमती सिर्जना अधिकारी हुन्छिन्। 

शव घर लादैं गर्दा देखाइएको कर्णालीको मनोरम दृश्यले दर्शकको मन तान्छ। सँगसँगै छिन भरमै गाडी माथि बाँधेको शवको बाकसको दृश्यले आँखाभरि आँसु ल्याउँछ। सँगै बजेको गीतले आगोमा घिउ थप्ने काम गरेको छ। मन थामी रहँदा थाहै नपाइ दर्शकका आँखाबाट आँसु बगिसकेका हुन्छन्। फिल्म हेरिरहँदा वैदेशिक रोजगारी वा उच्च शिक्षा हासिल गर्न विदेश गएका आफ्ना सन्तानको सम्झनाले अझ धेरै पीडा दिन्छ। उनीहरूलाई घत लाग्छ। मुटुनै चिसो पार्छ। यहाँ कर्णालीको मात्र होइन सिंगो नेपालको कथा निर्देशकले देखाउँछन्। 

मदन म कलि युगको
तिमी हौं मेरी मुना
मेरो कर्णाली .....मेरो कर्णाली...
अझै उस्तै छ , व्यथा कयौँ गुना..व्यथा कयौँ गुना... 

जस्ता गीतका शब्दले सिधैँ मुटु रेट्छ। शव लादै गरेको दृश्य हेर्दा लाग्छ ओहो! आफैंमा बितेको छ की ती तीता पल। जब शव घर पुग्छ गाउँलेको भिड र बाकस पछि हिँडेका लामो लस्करले मन पगाल्छ। त्यो बाकस भित्र वैदेशिक रोजगारीका लागि वृद्ध बा, सानो बालक र श्रीमती छोडेर परिवारको खुशी किन्न  गएका एक युवक शव बनेर फर्केका हुन्छन्।

घरसम्म शव पुग्दै गर्दा गीत र दृश्यले आङ नै सिरिङ पार्छ। चस्स मुटुमा खोच्छ। निर्देशकले गरेको दुख त्यहाँ देखिन्छ। घरमा शव पुगेपश्चात् गाउँका छरछिमेक भेला हुन्छन्। तर भेला भएका सबै बूढापाका हुन्छन्। यसले कर्णालीको आजको दृश्य हुबहु प्रस्तुत गरेको छ। गाउँ खाली छन् , बच्चाबच्ची पनि खासै छैनन्। थोत्रा मैला कपडा, टाउकोका टोपी, गम्छा, लबज भेषभुषा सबै टपक्कै टिपेको छ। 

शव घर पुगेको केही बेरमा तुले ‘विजय बराल’ ले कफिन खोल्छ। तब देखिन्छ सुनै सुनसहितको नक्कली पुतला। अनि उसको होस् उड्छ। अचानक शोकपूर्ण स्थिति हाँसोमा परिणत हुन्छ। दर्शकलाई पनि हाँस्न बाध्य बनाउँछ। ‘डार्क ह्युमर फर्म’मा बनेको फिल्मले हँसाउँदै रुवाउँदै घटनाक्रम सोच्न बाध्य बनाउँछ। 

अब काठमाडौंमा भने सोनालाललाई विदेशी नम्बरबाट सुन सप्लाइ नभएको भन्दै ज्यान मार्ने धम्की आउँछ। अचानक ढलेको उ ग्राण्डी अस्पतालको सदन कक्षमा पुग्छ। भिलेन भए पनि उनी दर्शक हँसाउन अथाह प्रयास गरी रहन्छन्। जहाँ सलाइनसहित हिँडेर उनले दर्शकलाई पेट मिची-मिची हँसाउने प्रयास गरेका छन्। 

उनको दिमागमा नयाँ तिगडम आउँछ। जहाँ मध्यान्तरको थोरै अघि हरिबुतुने (हरी निरौला ‘कक्रोच’) अघोरी भेषमा पर्दामा देखिन्छन्। जसलाई जोगीको फेरिमा सुन खोज्ने यन्त्र राखी शव भएको ठाउँमा सुन खोज्न पठाइएको हुन्छ। हरीबुतुने पाडेका छोराको रूपमा देखाइएको छ। अघि निर्देशक चिप्लिएको स्थान यही हो जहाँ फेरि निर्देशक कट्टेल चिप्लन्छन्। यस पाली पनि ५ शव भएकोमा जोगी सिधैँ कर्णाली पुग्छन्। अन्य ४ ठाउँका शवलाई नदेखाइ अब फिल्म सक्न हतार गर्छन्। 

अघोरी भेषधारी कर्णाली ओर्लनासाथ् मृतकको घर पुग्छ र सिधैँ सुन भेट्छ। उसको चरित्रले दुखनै भोग्नु पर्दैन। जब सुन भेटेर फेरि लगाउँछ तब तुलेको हातको झापु भेट्छ। गाउँका गल्लीगल्ली भगाइ भगाइ पिट्न लाग्छ। अघोरीले केही भनेर बच्नुको साटो सिधैँ भाग्दा स्क्रिप्टेट लाग्छ जसले फिल्मको मज्जालाई कम गर्छ। एकैछिनको भागदौडका बाबजुत दुबैको हानाहान हुन्छ। जहाँ थोरै समय क्यामरा हलिन्छ र हलमा फिल्म हेर्दै गरेका दर्शकलाई रिँगटा चल्छ। यसबाहेक छाँयाकनमा कुनै समस्या देखिँदैन। 

झगडापश्चात् थोरै समयमा हरिबुतुनेले ५ लाखमा सुन खोज्न आएको बताउँछ।  तुलेले सिधैँ ५ करोड दिन्छु भनेसी सुन नभेटिएको तथ्य सोनालाललाई जानकारी दिन्छ। अनि रक्सी खाने क्रममा पाडेले कोठा भाडा तिर्न ५ हजार माग्दा अब घर किन्छु भनी बाउलाई घर खोज्न भन्छ। यसै बीचमा अभिनेता दयाहाङ राइको छोटो सिन पनि देखा पर्छ जो हरिबुतुनेको नाटक घरको प्रशिक्षक हुन्छन्। आफू नआउने र नयाँ फिल्म बनाउने रक्सीको तालमा कुरा गर्छ। यस फिल्ममा हरि निरौलाले आफ्नो स्वर  परिवर्तन गर्ने कोशिस गरेता पनि उनी यसमा कमजोर देखिन्छन्। सुरुमा आवाज भिन्न सुनिए पनि उनको सिरियलकै बोल्ने शैली र लवज महसुस हुन्छ। तर उनको तारिफ भने गर्नै पर्छ, उनी निडर भैँ नयाँ प्रयास गरे। सोही स्थानका उम्दा मानिने कलाकार अर्जुन घिमिरे भने नयाँ पात्र गर्न डराएको देखियो। 

उता विजय (सागर लम्साल ‘बले’) भने रेडक्रस नजिकै रहेको नवनिर्मित ह्ययात प्यालेसमा कुमारी आचार्य ‘मुनि’सँग बेड सिनमा देखिन्छन्। त्यतिबेला सम्म विजयले मृतकको बाउलाई भान्जाको साथी भनी सुनको कुरा गरेका हुन्छन्। यस बीचमा देखिएकी पात्र कुमारी‘मुनी’ को अभिनय भने खासै राम्रो देखिँदैन। चलचित्र स्तरको छैन। यसले पात्र खोज्न निर्देशकले कन्जुस्याइँ गरेको भान हुन्छ। यतिकैमा मध्यान्तर हुन्छ। 

सुरुको दिनमा निर्माण पक्षले फिल्मको १५ देखि १९ मिनेट काटेका हुन्छन् । जुन निकै दुखदायी कुरा हो। सिरियल जस्तै हल्का रूपमा चलचित्रलाई लिँदा निर्देशकको कच्चापन देखिएको छ। निकै दिग्गज, अनुभवी र सहयोगी साथीभाइ चलचित्रमा हुँदा पनि उनले राम्रो सल्लाह भने पाएनन्। बिना ट्रेलर रिलिज भएको चलचित्रले २ वटा प्रमोश्नल गीत ‘हेर्दा हेर्दैमा’ र ‘नेपाल हाँसेको’ सार्वजनिक गरेको थियो। जसले फिल्मको प्रसार प्रचारलाई नया उचाइमा पुर्याएको थियो। दुवै गीत चर्चित कोरीयोग्राफर गम्भीर बिष्टले निर्देशन गरेका हुन्। जुन गीतले ट्रेडिंगको शिखर चुमेको थियो। निर्माण टिमले प्रचारप्रसारका लागी कुनै ठाउँ छोडेका छैनन्। कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाडे’ भने २ जना देख्योकि बालेनको गीत गाउने र अरूलाई गाउन लगाई हाल्थे। गीतलाई जति उनले प्राथमिकता दिए फिल्मलाई एक छेउ पनि दिएका छैनन्। उनको मुख्य काम नै बालेनको फ्यान हलमा तान्ने भयो। 

फरक शैलीमा प्रस्तुत गरिएको मुकुन्द र धुर्मुसको जोडीले बडी स्क्रिन टाइम लिदा फिल्मले अलि नराम्रो टिप्पणी पाइरहेको छ। खुँखार भिलेनको रोल गरेका मुकुन्दको एक दशक पछिको निर्वाह गरेको भूमिका खाशै तारिफयोग्य छैन। मेरी बास्सैबाट आफ्नो पहिचान बनाएका ल्याङ्रे दादा भने गुर्जु दादा ‘अर्पण थापा’ को गार्डको रूपमा देखिएका छन्। मोडलिङमा आफ्नो पहिचान बनाएका उनी किन फिल्मको सानो रोलमा हाम फाले सोच्न पर्ने कुरा छ। 

मध्याह्न पश्चात् बल्ल फिल्म फिल्मी शैलीमा सुरु हुन्छ। फिल्मका पात्र सन्देश ‘महेश त्रिपाठी’ को अहिले चारैतर्फ वाहवाही छ। फिल्मलाई बचाउने उनी एक अब्बल पात्र साबित भए। आफ्नो छोरा कुपोषण लागेको, उपचारका लागि स्वास्थ्य चौकीमा सुविधा नपाएको, नेताको साथ नपाएका जस्ता विविध कारणले अल्पायुमा उसको छोराको मृत्यु हुन्छ। टाउको माथि गिद्ध घुमेका दृश्य, आफ्नो श्रीमतीको भूमिका निर्वाह  गर्ने रेनु नाथ योगीको पनि उत्कृष्ट अभिनय छ। अर्जुन घिमिरेले यी दुई कलाकारको विज्ञापन गरेका भए आज हल हल चहार्दै हिँड्नु पर्ने थिएन। 

काँधमा बोकेर विजय जुलुस गरेका ती नेतालाई आफ्नो छोराको उपचार गर्न लानका लागि भीक माग्दा उनले भोगेका पल सबै दर्शकले आफूसँगै घर लगे। यहाँ उपचार नपाउँदा उता नेताको हवाई सवारी, डाँडामा भ्यू टावर उद्घाटन जस्ता चीजले साँच्चै सबैलाई सोच्न बाध्य बनाउँछ। कतै हेरिरहँदा नेताप्रतिको आक्रोश सबै दर्शकका अनुहारमा देखिन्छन्। यही ठाँउ हो जहाँ हल सुनसान हुन्छ। सुतेका उठछन् अनि एकटक सन्देश र उनकी पत्नीको अभिनय निहाल्छन्। यो पल लाग्छ कि यो फिल्म कमेडी भन्दा पनि सिरियस र सस्पेन्ससहित भएको भए पूर्णबहदुरको सारङीलाई २ दिनमै पछि पार्थ्यो होला। 

निर्माण पक्षले निकै रामो कथावस्तुको उठान गरेको छ। स्वास्थ्य सेवा महाशाखा, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सार्वजनिक स्वास्थ्य अधिकृत महेश शर्माका अनुसार हाल ५ वर्ष मुनिका मध्यम र कडा गरी १ हजार १६८ जना २०८१ पौष अन्तिम सम्ममा कुपोषणका बिरामी छन्। जसको मात्रा निकै धेरै हो। 

आफ्नो छोरा बितेपश्चात् सन्देश अब नेपालमै केही गर्छु र छोरा जसरी अरू कोही मर्न दिन्न भनेर सहर लाग्छन्। जहाँ भाग्यवश गुर्जु दादाको चालकको जागिर पाउँछन्। दरबारमार्गबाट घर फर्किने क्रममा २ नेता र गुर्जु दादाको सुन तस्करी सम्बन्धी कुराकानीको भिडियो सुटुक्क निकाल्छ। जुन फिल्मको अन्त्यमा देखाइन्छ। उता अब नक्कली शव बोक्ने एम्बुलेन्सका चालकको रूपमा काम गरिरहेका बुद्धि तामाङलाई रक्सी खुवाएर गुर्जु दादा र सुन काण्डबारे खुलासा गर्ने अभिव्यक्ति रेकर्ड गर्छ। गुर्जु दादालाई भिडियो देखाएर आफू एम्बुलेन्स चालक र विश्वासिलो पात्र बन्छ। विदेशबाट मामाको छोराको शव र सुन आउने एउटै प्लेन हो भने थाहा पाएपश्चात् विजय (सगर लम्साल ‘बले’) सँग उसले योजना बनाइसकेको हुन्छ। यो कुरा बिजयमार्फत गुर्जु दादाले थाहा पाइसकेको हुन्छ र समय हेरी सन्देशको हत्या गरि सुन हत्याउने दाउमा हुन्छ। जसको मूल्य ६० करोड आसपास हुन्छ। 

यता पाडे फेरि गुर्जु दादाकोमा आउँछ। यसपालि काम होइन घर खोज्दिन आग्रह गर्छ। अनि आफ्नो छोरा हरिबुतुनेको चिठाबारे बताउँछ। त्यतिकैमा सोनालालले सुन कर्णालीमा छ भन्ने चाल पाउँछ र हतार हतार सिम्रिक एयरको हेलिकप्टरमा गुर्जु दादासहित कर्णाली पुग्छ। निर्माण पक्षले सिम्रिक एअरको निकै राम्रो विज्ञापन गरेको छ। गुर्जु दादाको इसारामा गल्न लागेको शवलाई कर्णाली पुर्याएर सुन लिएर सन्देश र विजय काठमाडौं निस्किसकेका हुन्छन् । 

कर्णाली पुगेका सोनालालको भद्दा अभिनय त्यहाँबाट सुरु हुन्छ। जबरजस्ती दर्शक हँसाउन खोजे पनि यसले फिल्मको लेबल गिराएको छ। पछि बाकस खोल्दा सुनको सट्टा फेरि शव भेटिएपछि सोनालाल तनावग्रस्त हुन्छ। टोली काठमाडौं फर्कन्छन्। उता बीच बाटोमा सुन लिएर जाँदै गरेको सन्देशले स्वास्थ्य चौकी र अन्य तीता अतीत सम्झन्छ। काठे पुलको बीचमा विजयले गुर्जु दादाको आदेश अनुसार सन्देशलाई मार्ने जिम्मा लिएको हुन्छ। तर सोही कुरा सन्देशले झगडाको क्रममा खसेको मोबाइल बाट थाहा पाउँछ र झगडाको क्रममा विजयलाई सन्देशले पुलबाट ठूलो छाङ्गोमा खसालिदिन्छ। 

घाइते भएको सन्देश अब विजय बनेर गुर्जु दादालाई काम भयो भनी म्यासेज गर्छ। अनि विमानस्थालको कडा भनिएको एसपी बीबी गुरुङ (पाइलट विजय लामा) लाई सुन तस्करीको भिडियो र आफ्नो ज्यान जोखिममा रहेको सन्देश बताउँदै सिम सेट दुवै फ्याँकेर कर्णाली लाग्छ। खत्रा भनी देखाइएका एसपीको कुनै पनि खत्रा अभिनय हुँदैन । उनी हुनु र नहुनुको कुनै मतलब छैन। सागर लम्साल ‘बले’ आफ्नो सिरियलकै लवजमा हुन्छन्। जसले उनलाई प्रदान गरेको भूमिकालाई न्याय दिन सकेन। उनी विजय भन्दा बलेकै स्वरूपमा छन्। 

उता भिडियोकै आधारमा नेता, व्यापारी सोनालाल र काठ उद्योगका मालिक गुर्जु दादालाई प्रहरीले पक्राउ गर्छ। विजय ‘सागर लम्साल’ को पृथक शरीर खोला किनारमा फेला पार्छ। अर्कोतर्फ सन्देश गुर्जु दादाले सुन डिल गर्न ठीक पारेको चिनियाँ व्यापारीसँग सुन बेच्न आउँदै छु भनी खच्चड्मा सुन बोकाइ जान्छ। त्यहाँ विदेशी व्यापारीको मुख्य सरदाका रूपमा कुमार कट्टेल देखिन्छन्। फिल्म दोस्रो भागलाई कथा वस्तु राखेर सकिन्छ। विजय (सागर लम्साल ‘बले’ )लाई प्रहरीले मृत घोषणा गरेको हुँदा अब दोस्रो भागमा उनको अभिनय नहुने सहजै अनुमान लगाउन सकिन्छ। 

निकै चर्चा कमाउन छक्का-पन्जा झैँ धेरै कलाकार राख्नु र उनीहरूको सही प्रयोग गर्न नसक्नु निर्माण टोलीको कमजोरी देखियो। अर्पण थापालाई दिएको स्क्रिन टाइमले सबैको आशा निराशामा बदलेको छ। कलाकारले आफै हाँसेर हँसाउन खोजेका छन् तर दर्शकले खासै मन खोलेर हाँस्न भने सकेनन्। सुरु देखि अन्त्यसम्मको एकै प्रकारको कमेडी खासै रुचिको विषय बनेन। मध्यान्तरपश्चात् निर्देशक बढी हतारमा हुन्छन् जसले फिल्मलाई पछि धकेल्छ। एकदमै सहज तरिकाले सोनालालले सुन पत्ता लगाउँछन्। कुपोषण भएको बच्चाको छिटै मृत्यु हुन्छ। सन्देशले सहजै जागिर पाउँछन्। विजय बराललाई सहजै निकाल्छन्। विजयको सहजै मृत्यु हुन्छ। पुलिसले एकदमै सहज तरिकाले सुन तस्कर समाउँछन् अनि अन्त्यमा सुन खच्चडमा राखेर बेच्न निस्किन्छन्। 

फिल्मलाई महेश त्रिपाठी, कमलमणी नेपाल, सिर्जना अधिकारी, विजय बराल,अर्पण थापा,  रेनु नाथ योगीले जीवन्त् बनाएका छन् । हँसाउने भन्दा पनि रुवाउँदै कलाकारले दर्शकको मन जित्छन्। अझै थोरै गहन अध्ययन र समय लगाएर बनाएको भए फिल्म चलाउन हलमा कलाकार कुद्न पर्दैन थियो। चिया पसल देखि भीआइपीसम्मले विज्ञापन गरेका छन्। लाग्छ फिल्मको आधा पैसा विज्ञापनमै सकिएको छ। 

कहानीमा जति ट्वीस्ट भयो त्यति फिल्म हेर्न मज्जा हुन्छ। लाज शरणम् मा पनि धेरै ट्विष्ट छ । जहाँ दर्शकले जे सोच्छन् त्यही निकै छोटो र छिटो हुन्छ। जसले कथावस्तुको मूल विषयलाई अन्धकारतर्फ धकेल्छ। जति तामझामका साथ् प्रमोसन भयो त्यति विषेश भने फिल्म बनेन। अर्जुन घिमिरे पाडेले बालेनको गीत गाएर र अन्य टिमले जति मौखिक विज्ञापन गरे त्यति नै दर्शक शो हेर्न आएका छन् कथा वस्तुकै निम्ति दर्शक उर्लिएका छैनन्। झन्डै ३ करोड आसपासमा निर्माण भएको चलचित्रले घाटा बेहोर्न नपरे पनि अर्को फिल्मलाई राम्रो कथा वस्तु नभए अनमोल केसीको जस्तै फिल्म चिप्लिन सक्छ। 

कथा उठान राम्रो छ। निर्देशकले समाजको असमानताहरूलाई अत्यन्तै चित्कारपूर्ण तरिकामा चित्रित गरेका छन्। जसले हरेक व्यक्तिलाई आत्ममंथन गर्न प्रेरित गर्दछ। पटकथा, संवाद र अभिनयले सशक्त सन्देश दिएको छ। जसले दर्शकलाई सोच्न बाध्य बनाउँछ। फिल्ममा मानवता र संवेदनशीलताको अभावले गर्दा पात्रहरूको जीवनमा कसरी कालो अँधेरो फैलिन्छ भन्ने कुरा गहिरो रूपमा चित्रित गरिएको छ। 

तर, फिल्मको गति कहिलेकाहीँ मन्द छ र संवादहरूको समृद्धि अझ थप संवेदनशील बनाउन सकिन्थ्यो। फिल्मको विशिष्टता र कथा बलियो भएता पनि यसको लय र भावनात्मक गहिराइलाई अझ उचाइमा पुर्याउन आवश्यक छ । समग्रमा फिल्मले नयाँ कथा बोल्ने कोसिस गरेको छ। अझै गहन अध्ययन र समय व्यवस्थापन गर्न सके दोस्रो भागलाई अझ विशेष बनाउन सकिन्छ। अझै दर्शक स्रोताको मन जित्न सक्छ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update