Harsamaya
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ । 

आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा  सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । 

उनले आयोजनाको विकासकर्ता कम्पनी एसएपिडिसीले छुट मुआब्जावापतको ५३ करोड जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरु भएको बताए । 

यसअघि छ्याङकुटी–दिदिङ सडक खण्डअन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो । त्यसै आधारमा छुट मुआब्जावापत ५३ करोड आवश्यक पर्नेमा यसअघि २५ करोड मात्र प्राप्त भएको जनाइएको थियो ।  सो रकम प्रवेशमार्गका पीडितमध्ये ६० परिवारलाई वितरण गरिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update