
भैरहवा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।
सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रूपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन । बहस सकिएपछि जिल्ला अदालत बाहिर पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले पत्रकारहरूसँग बोल्दै भने ‘सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सानो भएको भए मलाई मात्र पुर्न मिल्थ्यो तर सरकारले यति ठूलो खाल्डो खन्योकी त्यसमा ती सबै जना जाकिन्छन् ।’
उनलाई आगामी वैशाख २३ गते अर्को तारिख दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले सोमबार नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो ।
सो मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको भन्दै पछि ठहरे बमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।