
सुर्खेत - कर्णालीका दुर्गम जिल्लाहरूमा हवाई सेवा सहज बनाउने उद्देश्यले सुरु गरिएको तारा एयरको सुर्खेत–हुम्ला, मुगु र जुम्ला उडान बन्द भएको छ। निरन्तर घाटा बेहोरिरहेकाले सेवा बन्द गर्नुपरेको तारा एयरले जनाएको छ।
गत सन् २०२४ डिसेम्बर ४ मा कर्णाली प्रदेश सरकारको उपस्थितिमा औपचारिक रूपमा उद्घाटन गरिएको सेवा आवश्यक सहयोग नपाएको भन्दै बन्द गरिएको हो। हिमाली टुर एण्ड ट्राभल्समार्फत सञ्चालित उडानमा यात्रु संख्या र सरकारी समर्थनको अभाव देखिएको व्यवसायी मिनबहादुर रावलले बताए।
अब कर्णालीका हिमाली जिल्ला जाने यात्रुहरू पुनः नेपालगञ्ज विमानस्थलको भर पर्नुपर्ने भएको छ। हाल नेपालगञ्जबाट मात्र तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि उडान भर्दै आएका छन्।
यसैबीच, यती एयरलाइन्सले सुर्खेत–काठमाडौं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार परीक्षण उडानका आधारमा आगामी दिनमा सुर्खेतबाट नियमित व्यावसायिक उडान सञ्चालन गर्ने तयारी भइरहेको छ।
यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले यात्रुको माग अनुसार उडान संख्या बढाउँदै प्रतिस्पर्धात्मक भाडादर उपलब्ध गराउने योजना रहेको बताए। यसले सुर्खेतबाट हवाई सेवा पुनः सशक्त हुने अपेक्षा गरिएको छ।