Harsamaya
अरुण तेस्रोको मुआब्जा वितरण रोकियो
मुआब्जा वितरण।सांकेतिक तस्वीर: हर समय/Har Samaya

संखुवासभामा - संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गको छुट मुआब्जा वितरण रोकिएको छ। आयोजनाले जिल्ला प्रशासन कार्यालय संखुवासभाको खातामा रकम नपठाएपछि मुआब्जा वितरण रोकिएको हो ।

आयोजनाको विद्युत्गृह जाने प्रवेशमार्ग छ्याङ्कुटी-दिदिङ सडकखण्डको चार सय ५४ रोपनी (२४.५ किमि) जग्गाको छुट  मुआब्जा रकम जिल्ला प्रशासन कार्यालयले गत १७ पुसदेखि वितरण गर्न सुरु गरेको थियो । आयोजनाले ५३ करोड रुपैयाँ जिल्ला प्रशासनको खातामा 'जम्मा गर्ने र सोही रकम जग्गाधनीलाई वितरण गर्ने गरी 'काम सुरु गरिएको थियो ।

जसमध्ये पहिलो चरणमा २५ करोड मात्र उपलब्ध गराएकाले सो रकम ६० परिवारलाई वितरण गरिसकिएको छ। तर, आर्थिक अभाव भएको भन्दै आयोजनाले थप रकम खातामा नपठाएपछि तत्काललाई मुआब्जा वितरण रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए । पीडितले लगातार आठ वर्ष मुआब्जा माग गर्दै विभिन्न चरणको आन्दोलन गरेका थिए । 

सर्वोच्च अदालतले गत १७ पुसदेखि मुआब्जा वितरण गर्न आदेश दिएपछि पीडितलाई मुआब्जा वितरण सुरु गरिएको थियो । अहिले रकम अभावले वितरण कार्य रोकिएको बताउँदै अब तत्कालै रकम प्राप्त भएपछि मुआब्जा वितरण सुरु हुने जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।

आयोजनाको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ । हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जनाएको छ । निर्माण । सम्पन्न भएको २५ वर्षपछि अरुण तेस्रो नेपाल सरकारलाई हस्तान्तरण गर्ने परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update