
बैतडी - क्यान्सरपीडितले पाउने रकम गाउँपालिकाको स्वास्थ्य शाखाले लुकाएर फ्रिज गरेको पीडितले आरोप लगाएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाका ६ जना क्यान्सरपीडितका लागि आउने वार्षिक करिब सात लाख रुपैयाँ पीडितलाई कुनै जानकारी नदिई स्वास्थ्य शाखाले विगत दुई वर्षदेखि फ्रिज गर्दै आएको पीडितले गुनासो गरेका छन् ।
क्यान्सर रोगको नियमित गराइरहेका पञ्चेश्वर गाउँपालिका-३, कुलाउका दीपक चन्दले उपचार गराउन घरखेत बिक्री गरिसकेको बताए । नेपाल सरकारले क्यान्सरपीडितलाई दिने मासिक पाँच हजार रुपियाँ गाउँपालिकाको स्वास्थ्य शाखाले फ्रिज गरेको उनले गुनासो गरे ।
क्यान्सरपीडितका लागि आएको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयबाट असार अन्तिम समयमा आएकाले फ्रिज भएको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामसागर शाहले बताए । उनले यो वर्ष मन्त्रालयसँग पुनः रकम माग गरिएको जानकारी दिए । पछि सोधभर्ना हुने गरी क्यान्सरपीडितलाई गाउँपालिकाबाट रकम दिन सकिने भए पनि कार्यपालिका बैठकबाट निर्णय हुनुपर्ने स्वास्थ्य संयोजक शाहले बताए ।