
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्कदैं छन् । पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्कने छन् । राजाको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्।
राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका छन् । उनीहरूले राजाको स्वागतमा हजारौंलाई उतार्ने दाबी गरेका छन्।
फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुदै आफ्नो अभियानलाई तीब्र बनाइरहेका छन् ।
पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।
गृह मन्त्रालयले राजतन्त्र पुनर्स्थापना पक्षधरहरूको भेलामा १० हजार मान्छे उपस्थित हुने आकलन गरेको छ। पोखराबाट पूर्वराजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।