Harsamaya
मकुना मृत्यु प्रकरण: आत्मरक्षाका लागि सेनाले गोली चलाएको समितिको निष्कर्ष
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्यु पश्चात ।

काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समितिले आत्मरक्षाका लागि सेनाले मकुना माथि गोली चलाएको निष्कर्ष निकालेको छ ।

वन मन्त्रालयका सह–सचिव डा.बुद्धिसागर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले निकुञ्जका कर्मचारीको आत्मरक्षा गर्न नेपाली सेनाले चलाएको गोली लागेर मकुनाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।

‘हात्तीलाई स्वीप गर्ने क्रममा नजिकैबाट आक्रमण गर्न आएकाले हवाइ फायर गर्दा समेत पुनः आक्रमण गर्न आएको र स्वीप टोलीका रेञ्जर भुईमा खसेको र जिउँज्यानको जोखिम भएको अवस्थामा बचावटको लागि अन्य विकल्प नभएकाले परिस्थितीजन्य अवस्थामा बाध्य भई स्वीप टोलीले चलाएको गोली लागि मकुना जंगली हात्तीको मृत्यु भएको देखिन्छ,’छानबिन समितिले वन मन्त्रालयमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्त्रालयमा बुझाएको प्रतिबेदनमा दुई राउण्ड हवाइ फायर र चार राउण्ड गोली चलाएको उल्लेख गरिएको छ । त्यसमध्ये अन्तिममा चलाइएको गोलीले दाहिनेपट्टीको घाँटीबाट मुटु छेडेपछि हात्तीको मृत्यु भएको छानविन समितिले जनाएको छ ।

माघ २३ गते स्वीप कार्यका लागि छ वटा हात्ती सहित सेक्टर कार्यालय र नेपाली सेना सहित १४ जनाको संयुक्त टोली परिचालन भइरहेको थियो । स्वीपका क्रममा अग्लो ढड्ढी र झाडी भएको स्थानमा पुग्दा मकुना अकस्मात आक्रमण गर्न आएकाले सुरुमा दुई राउण्ड हवाइ फायर गरेको गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले चितवनमा दुई दिनसम्म स्थलगत अध्ययन गरि रिपोर्ट तयार परेको थियो । मकुना असोजदेखि कुमरोज, चित्रसेन र बाघमारा सामुदायिक मध्यवर्ती वन क्षेत्र र वरिपरिको गाउँ बस्तीमा देखिन्थ्यो । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update