
कहिल्यै काम नमानिने काम सकेर
स्वतन्त्र र स्वाभिमानी हुन
दौडिन्छु अफिस,
अफिसमा हुँदा पनि घर मनमै हुन्छ
बच्चाले के गरे, के खाए,
के लाएले सताउन छाड्दैन,
म स्वतन्त्र महसुस गर्न
कामवाली भएकी थिए
आफ्नै बच्चा र घरको
पिरमा नराम्ररी बाँधिए।
आमाले भन्थिन्,
कठै छोरी कति थाक्यौं,
घरकाले भन्छन्
तिमीले पकाको मिठो हुन्छ लुलु पकाउ
घर, बच्चा र अफिसको कामले
थिलथिलो भएकी म
श्रीमान्को हेरचाह गर्न नभ्याउँदा,
दुर्वचन सहनुपर्छ
कहिलेकाहीँ लाती र हातको माया पनि खानु पर्छ।
म जन्मिँदा स्वतन्त्र भएकी नारी
समाजको बन्धनले बाँध्दा बाँध्दा अब श्वास फेर्न पनि नसक्ने भएको छु
कहाँ सोचुँ यो देशकोबारे
कहाँ बोलुँ आफ्ना पीडाबारे
म शिक्षित नारी
आफ्नै पीडाले ग्रस्त छु।
मेसिन झैँ घोटिदा पनि,
हड्डीबाट तप तप पसिना चुहिदापनि
अरुको घर र मन सम्हाल्न नसकेको आरोप आउँछ
बरु लैजाउ एक मुठ्ठी श्वास
पक्कै यो जुनीले मुक्ति पाउँछ,
पक्कै यो जुनीले मुक्ति पाउँछ!
यो पनि पढ्नुहोस