
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् ।
‘रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरे ।
‘रूस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस्,’ उनले लेखे ।
ट्रम्पको धम्की यस्तो समयमा आएको हो, जब रुसले शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।
केही दिनअघि राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको विवादपछि ट्रम्प प्रशासनले युक्रेनसँग अमेरिकी सैन्य सहायता वितरण र गुप्तचर आदान प्रदानमा रोक लगाएको थियो ।