
काठमाडौं - आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत् रूपमा सुरु भएको छ । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो । बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो ।
फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । परम्परा अनुसार रंगी चंगी कपडाका टुक्राहरू झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।
तीन तले छत्र र त्यसमा रंगीचंगी कपडाका टुक्राहरू झुण्डिएका करिब ३० फीट अग्लो चीरलाई ठड्याइएको छ ।
वसन्त उत्सवका रूपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको छ । यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयल रुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरू झुन्ड्याएको चीर गाडिएको छ ।
बसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।
धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।
पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्याइ दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुन्छ। आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।