
काठमाडौं - नेपाल टेलिकमले आगामी चैत २ गते शनिबार एक रूपैयाँ मोबाइल ब्यालेन्सबाट 'चिसो मान्छे' फिल्म देखाउने भएको छ । नेपाल टेलिकमले बिहीबार एक सूचना सार्वजनिक गर्दै आफ्नो एनटी टिभी प्लाटफर्ममा एक रूपैयाँमा नेपाली फिल्मको स्ट्रिमिङ गर्न थालेको जानकारी दिएको हो ।
सो सूचनाअनुसार प्रयोगकर्ताले एनटी टिभीको 'मुभी सेक्सन' मा गएर 'वान डे मुभी रुपिंज वान' अप्सन छनोट गरी 'बाइ' अप्सनमा क्लिक गरेर नेपाल टेलिकमको नम्बर
हालेपछि ब्यालेन्सबाट एक रूपैयाँ काटिनेछ। त्यसपछि ओटिपी कोड आउने र त्यो कोड हालेपछि फिल्म हेर्न सकिने टेलिकमले जनाएको छ ।
अभिनेत्री स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाललगायत कलाकारले अभिनय गरेको 'चिसो मान्छे' फिल्म निर्देशक दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा निर्माण भएको हो । अभिनेत्री खड्का नेपाल टेलिकमको व्यावसायिक दूतमा नियुक्त भएलगत्तै उनी अभिनीत 'चिसो मान्छे' फिल्मलाई स्ट्रिमिङ गर्न लागिएको हो।