Harsamaya
 टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

मृत्यु हुनेमा २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजन रहेका छन् । 

आज बिहान करीब ३.४० मा शंखरापुर नगरपालिका-६ सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए । 

नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।  

६१ जना बस्ने गरेको टहरामा टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । 

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपालले सलम्बुटारमा २०६२ सालदेखि आश्रयस्थल सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update