
काठमाडौं - जीवनका रंगहरू सँगालेर क्यानभासमा उतार्नु कलाहरूको पनि उत्कृष्ट कला हो । त्यस्तै कृति शाह चन्दले जीवनका विभिन्न रंगहरूलाई क्यानभासमा उतारेकी छिन् ।
कुन रंगले स्वतन्त्रताको स्वाद दिन्छ? प्रेमको सबभन्दा मोहक रंग कुन होला? आत्माको पनि रंग हुन्छ त? यी प्रश्नहरूको उत्तर खोज्दै कलाकार चन्दले आफ्ना भावनात्मक तरंगहरू क्यानभासमा उतारेकी हुन् ।
बबरमहलस्थित नेपाल कला परिषदमा आयोजना गरिएको उनको दोस्रो एकल कला प्रदर्शनी ‘समय, परिस्थिती र वास्तविकता’ ले उज्यालोको खोजी, प्रेम, शान्ति, सांस्कृतिक धरोहर, न्यायको आवाज जस्ता भावनाहरूलाई रंगका छालहरूमा सजीव बनाएको छ। ‘फ्लुड आर्ट’ शैलीमा रंगलाई स्वतन्त्र बगाउँदै उनले जीवनका विविध पक्षहरूलाई चित्रमा उतारेकी छन्।
प्रदर्शनीको प्रमुख आकर्षणमा ‘स्वतन्त्रता’ शीर्षकको कृति छ, जहाँ एक युवती इन्द्रेणीका रंगहरूमाझ स्वतन्त्र उडान भर्दैछिन्। यसले महिलाको संर्घष र पहिचानको खोजीलाई प्रतिनिधित्व गर्छ। त्यस्तै ‘दियो र उज्यालो’ ले अन्धकारमाझ आशाको सन्देश दिन्छ, ‘फेस्टिभल’ ले होली पर्वको रौनक भित्र्याउँछ, र ‘अटुमन लभ’ ले प्रेमको अमरत्वलाई चित्रण गर्छ।
कलाकार शाह भन्छिन्, ‘सफलता प्रसिद्धिमा मात्र होइन, मनको शान्तिमा पनि निर्भर हुन्छ।’ उनी अरूलाई अन्याय नगर्ने र आफू पनि अन्याय नसहने बताउँछिन् । उनको कलामा पनि सोही झल्किन्छ । अनेकौं रंगले बाँधिएका महिलाहरूको स्वतन्त्रतालाई उनले प्रष्टसँग कलामा उतारेकी छिन् ।
४५ वटा कलाकृति समावेश प्रदर्शनी सोमबारबाट सुरु भएर बिहीबारसम्म चलेको छ । यो प्रदर्शनीमा कला पारखीहरूले रंगहरूको भाषा सुन्ने अवसर पाएका छन् ।
शाहका कृतिहरू १५ हजारबाट सुरु भएर ६० हजार मूल्यका छन् । जसमा पशुपतिनाथ मन्दिरको क्यानभासको मूल्य ६० हजार तोकिएको छ ।
२०३० मा जन्मिएकी शाहको पहिलो प्रदर्शनी ‘खोज एक प्रयास’ विकल्प आर्ट ग्यालरीमा सन् २०२३ मा भएको थियो । उनले समूहगत नौ प्रदर्शनीमा पनि आफ्नो कला प्रदर्शन गरेकी छिन् ।
कलाकार शाह अग्रज तथा सिद्वहस्त कलाकार शशिविक्रम शाहकी छोरी हुन् ।
हेरौं तस्विरमा उनका कलाहरू :-