Harsamaya
नेपालयको २० वर्षे उपलक्ष्यमा '२०२५ मा २५ का २५' कार्यक्रम घोषणा
नयाँवर्ष २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै प्रकाशन गृहले ‘२०२५ मा २५ का २५’ कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं - ‘पल्पसा क्याफे’ उपन्यासमार्फत प्रकाशन फाँटमा उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । नयाँवर्ष २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै प्रकाशन गृहले ‘२०२५ मा २५ का २५’ कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार, २५ वर्षभन्दा कम उमेरका नेपाली तन्नेरीको फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने जनाइएको छ । जसमा कथा, कविता र निबन्ध विधाका हुनेछन् ।

‘लामो यात्रापछि अब फेरि यस प्रकाशन गृहले नयाँ पुस्ताबीचबाट नयाँ सम्भावनाको खोजी, संवर्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्को गरेको छ’ नेपालयले भनेको छ ।

यसका लागि ‘एक्काइसौं शताब्दी के सोचिरहेको छ ? के लेखिरहेको छ ?’ भन्ने प्रश्नमा केन्द्रित रही वर्तमान शहस्राब्दीमा जन्मेका लेखकलाई पब्लिकेसनले खुला आह्वान गरेको छ ।

‘सन् २००० लागेयता जन्मेका जोसुकै नेपाली, नेपाली मूल वा नेपाली भाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘लेखकले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन् ।’

लेखकहरु जुनसुकै शीर्षक, विषय, शैली वा लयमा लेख्न स्वतन्त्र रहने समेत जनाइएको छ । तीन विधामध्ये निबन्धका हकमा निबन्ध, प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यंग्य, टिप्पणी, ओपेड, कसैलाई सम्बोधन, समीक्षा, भावना, कल्पना, धारणा, सपना, प्रभाव, मिथक, श्रुति आदि सबैखाले रचना स्वीकार्य हुने जनाइएको छ ।

रचनाहरु बढीमा २५ सय शब्दको हुनुपर्ने प्रावधान राखिएको छ । त्यसैगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गरेर तयार पारिएको कुनै पनि लेख वा रचना यो प्रतिस्पर्धाका लागि अमान्य हुने भनिएको छ ।

रचनालाई २०२५ को फेब्रुअरी २५ तारिखभित्र पब्लिकेसन नेपालयको वेबसाइटमार्फत समाविष्ट गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । फारम वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ

प्राप्त भएका रचनालाई लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनोट गर्नेछ । छनोट रचनालाई विधागत हिसाबले तीनवटा फरक फरक पुस्तकका रुपमा सन् २०२५ भित्रै पब्लिकेसन नेपालयले प्रकाशन गर्नेछ ।

पुस्तकमा अटाएका प्रत्येक लेखकलाई पब्लिकेसनको नियमअनुसार रोयल्टी प्रदान गरिनेछ भने केही लेखकसँग पुस्तक प्रकाशनका लागि सम्झौता पनि गरिने जनाइएको छ ।

‘हामीले आफ्ना प्रकाशन र त्यसको प्रवद्र्धनमा नवीनतालाई सदैव प्राथमिकतामा राख्दै आएका छौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यो अभियान नयाँ पुस्तामा सम्भावना बोकेर बसेका लेखकहरू कुनै कारणवश अगाडि आउन सकिरहेका छैनन् भने उनीहरुसम्मै पहुँच बनाउने प्रयासको सुरुवात हो ।’

Nepa-laya-1735727288.jpg
 

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update