Harsamaya
नेपाली सेनाको हायर कमाण्ड तालिम सुरु
नेपाली सेनाको उच्च तहका अधिकृतहरू।

काठमाडौँ - नेपाली सेनाको उच्च तहका अधिकृतहरूलाई लक्षित गरी नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ गरिएको छ।

सेनाका बलाध्यक्ष रथी प्रदीप जंग केसीले विशेष समारोहबीच तालिम उद्घाटन गर्दै यसले अधिकृतहरूको नेतृत्व क्षमता, ज्ञान र आत्मविश्वासलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

यस तालिममा महासेनानी दर्जाका ३५ अधिकृत (२ महिला, ३३ पुरुष) सहभागी छन्। नेपाली सेनामा हुने सबैभन्दा उच्चस्तरको यो तालिम वि.सं. २०७१ देखि सञ्चालन हुँदै आएको छ, जसबाट हालसम्म १३ महिला सहित ३४० अधिकृत प्रशिक्षित भइसकेका छन्।

रथीवृन्द तथा अधिकृतहरूको उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा सेनाको भविष्यमा निर्णायक भूमिका खेल्ने अधिकृतहरूको सीप विकास, रणनीतिक सोच र निर्णय क्षमतालाई नयाँ उचाइ दिने कुरामा जोड दिइएको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update