Harsamaya
सिंजाका एक सय युवालाई १० लाखसम्म कर्जा
कर्जा ।सांकेतिक तस्वीर: हर समय/Har Samaya

जुम्ला - सिंजाका एक सय युवालाई १० लाखसम्म सरल कर्जा दिइने भएको छ । जुम्लाको सिंजा गाउँपालिकाले युवालाई उद्यमशीलता र उत्पादनसँग जोड्न 'किसान सरल कर्जा'मार्फत उक्त रकम दिन लागेको हो।

सिंजा गाउँपालिका र राष्ट्रिय वाणिज्य (रावा) बैंकबीच भएको सम्झौताअनुसार सिंजामा एक सय जना नयाँ उद्यमी उत्पादन गर्न यसले सहयोग पुऱ्याउने छ । गाउँपालिकाले कार्यविधि निर्माण गरी एक सय जना उद्यमी छनोट गर्ने र ती उद्यमीलाई रावा बैंकको 'किसान सरल कर्जा' कार्यक्रममार्फत १० लाख रुपैयाँसम्म सरल कर्जा उपलब्ध गराइने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

एक सय उद्यमीलाई किसान सरल कर्जा उपलब्ध गराउने विषयमा बैंक र सिंजा गाउँपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको छ । अध्यक्ष धितालले भने,'छनोट भएका पालिकाका युवाले कृषि उद्यमशीलता तथा कार्यका लागि १० उत्पादनमूलक कार्यका लागि १० लाखसम्म सरल कर्जा पाउने छन् । बैंकले पाँच प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने छ । उक्त ऋणको एक प्रतिशत ब्याज पालिकाले तिर्ने छ । त्यसका लागि छिट्टै कार्यविधि निर्माण गरी पारित गरेर कार्यान्वयनमा ल्याउने छौं ।'

गाउँमा तरकारी खेती, जडीबुटी उद्योग, व्यावसायिक स्याउ खेती, भेडा पालन, कुखुरा पालन, होटल व्यवसायलगायतका थुप्रै सम्भावना भए पनि आर्थिक अवस्था कमजोर भएर खुम्चिनु परेका युवालाई उद्यमशीलतामा जोड्न बैंकसँग सहकार्य गरी सरल कर्जा कार्यक्रममा हस्ताक्षर गरिएको धितालले बताए ।

पालिकाले दिने एक प्रतिशत ब्याज अनुदानको कार्यविधि पारित गर्नुपर्ने, ब्याज अनुदानको रकम बैंकलाई उपलब्ध गराए पश्चात मात्रै बैंकले ऋणीलाई शोधभर्ना गर्ने, पालिकामा व्यवसाय दर्ता भएकाले मात्र ऋण पाउने र बैंकले नियमनुसार ऋण उपलब्ध गराउने गरी चार बुँदे सम्झौता गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update