Harsamaya
फेरि बन्द हुने अवस्थामा टीकापुर विमानस्थल
विमानस्थल।सांकेतिक तस्वीर: हर समय/Har Samaya

टीकापुर - टीकापुर विमानस्थल पुनः बन्द हुने अवस्थामा पुगेको छ। सातामा तीन वटा उडान भर्दै आएको तारा एअरले अब एक दिन मात्रै उडान भर्ने जनाएको छ।

तारा एअरले टीकापुर नगरपालिकालाई २०८१ फागुन १९ गते एक पत्र पठाइ यही फागुन २६ गतेदेखि साताको एक पटक सोमबार मात्रै उडान भर्न सकिने जानकारी दिएको छ । पत्रमा दुई पक्षबीच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नं. १ अनुसार मार्च महिनादेखि जहाज नेपालगञ्ज बेस नहुने भएकाले उडान संख्या घटाउनु परेको उल्लेख छ ।

तारा एअरले नेपालगञ्ज-टीकापुर-नेपालगञ्ज मात्रै उडान सञ्चालन गरिने व्यहोरा सबैमा जानकारीका लागि नगरपालिकालाई अनुरोध गरेको छ । २०८१ कात्तिक १२ गते नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भरेपछि तारा एअरले २०८१ मंसिर ३० गतेबाट नियमित व्यावसायिक उडान थालेको हो। 

परीक्षण उडानकै दिन समेत तारा एअरको जहाजले उडान भरेको थियो। टीकापुर नगरपालिकाले १५ सिट बराबरको ग्यारेन्टी गरेपछि तारा एअरले व्यावसायिक उडान सुरु गरेको थियो। नगरपालिकाले खाली रहेका प्रतिसिट साढे आठ हजार रूपैयाँका दरले तारा एअरलाई रकम बुझाउने सम्झौता गरेको बताइएको छ । तारा एअरले टीकापुरबाट यात्रु बोकेर नेपालगञ्ज झार्थ्यो । नगरपालिका र तारा एयरबीच भएको सम्झौता अनुसार टीकापुरबाट तारा एअरले बोकेर लगेका यात्रुलाई यति एअरले काठमान्डौं लैजाने गर्थ्यो। 

२०४२ सालमा स्थापना भएको विमानस्थल २०५४ देखि बन्द अवस्थामा रहेको छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update