Harsamaya
मकवानपुरमा छोराको हत्या आरोपमा बाबुआमा पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

मकवानपुर - छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उहाँकी पत्नी ६३ वर्षीया देवीमायालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निगरानीमा उपचार भइरहेको उनीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

उनीहरूमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो । ब्लोन दम्पतीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

छोरा र बाबुआमाबीच सम्पत्ति भागबण्डाका विषयमा प्रायः घरझगडा पर्दै आएको प्रहरीले जनाएको छ । झगडा भएको थाहा पाएपछि छिमेकीहरुले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने ब्लोन दम्पती घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update