Harsamaya
चोरी पैठारीको २० किलो चाँदीसहित पाँच पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौंबाट पाँच जना पक्राउ परेका छन् । राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट नियन्त्रणमा लिएको हो । 

बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

प्रहरीले उनीहरुका साथबाट पैसा गन्न प्रयोग हुने मेसिन एक थान, डिजिटल तराजु दुई थान, चार थान मोटरसाइकल र विभिन्न कम्पनीका छ थान मोबाइल बरादम गरेको छ । उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update