
मस्को - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग तीन वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि वार्ताका लागि तयार रहेको घोषणा गर्नुलाई रूसी प्रशासनिक केन्द्र (क्रेमलिन) ले ‘सकारात्मक’ भनेको छ।
युक्रेन र प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाबीच अकल्पनीय विवादबीच युक्रेनी नेता जेलेन्स्कीले मङ्गलबार आफू ‘स्थायी शान्तिलाई नजिक ल्याउन जतिसक्दो चाँडो वार्ताको टेबलमा आउन तयार रहेको’ बताएका थिए ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एएफपीको एक प्रश्नको जवाफमा भने, ‘यो दृष्टिकोण सामान्यतया सकारात्मक छ ।’
अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीबाट प्राप्त पत्रलाई ठूलो स्वरमा पढेर सुनाएका थिए जसमा युक्रेनी नेताले आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका थिए ।
क्रेमलिनले जेलेन्स्कीसँग वार्ता गर्ने कि नगर्ने भन्नेमा पटक–पटक शंका व्यक्त गर्दै आएको छ ।
बुधबार पेस्कोभले जेलेन्स्कीले जारी गरेको आदेशको हवाला दिँदै पुटिनसँग प्रत्यक्ष वार्ता गर्न नमिल्ने बताएका थिए ।
युक्रेनी नेताले धेरै पटक पुटिनलाई भेट्न आफू इच्छुक रहेको बताउँदै आएका छन् । यद्यपि, किएभ र उसका पश्चिमी सहयोगीहरूले वार्ताको साझा अडानमा सहमति जनाएपछि मात्र यो सम्भव हुने बताएका छन् ।
मस्कोले सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएपछि जेलेन्स्कीको पाँच वर्षे कार्यकाल समाप्त भएको भन्दै वार्ताका लागि वैध नेता नभएको आरोप लगाएको छ ।
युक्रेनको सैनिक कानुनअनुसार युद्धकालमा चुनावमाथि प्रतिबन्ध लगाइएको छ ।