Harsamaya
माओवादी हिंसाले मुलुकको विकास २५ वर्ष पर धकेलियो : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौं - सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली जनताले सामान्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरको बताएका छन् । 

यदु स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको टीप्पणी गरे । 

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व हामी सबैको हो भने । 

नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र नेपाली कांग्रेसले महत्पूर्ण भूमिका खेल्दै आएको उदाहरण दिँदै उनले भने, ‘हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे, जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।’
 
हिंसात्मक गतिविधि सञ्चालन गरेको विषयलाई माओवादीले आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो समय हिंसाको अर्को आवरणको रुपमा सामाजिक सञ्जालको गलत प्रयोग भइ समाजमा विकृति र विसङ्गति मौलाएको भनी चिन्ता व्यक्त गरे । 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update