Harsamaya
अमेरिकाले  निष्कासन गरेका नेपालीहरूसँग प्रहरीले गर्यो सोधपुछ
नेपाल प्रहरी ।

काठमाडौं - नेपाल प्रहरीले अमेरिकाबाट निष्कासन परि नेपाल फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । 

नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो पुर्याइएका उनीहरूलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । 

प्रारम्भिक सोधपुछका क्रममा केही नेपालीहरू ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानुन उल्लंघन गरेर फर्काइएको पाइएको उनले बताए । त्यस्तै उनीहरूले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए । 

बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update