
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताएका हुन् ।
बुधबार काठमाडौंमा मानव अधिकार रक्षकहरुको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरूले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताएका हुन् । उनले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताए । मानवअधिकारको पक्षमा बोले अमानवीय तवरले धम्की आउने गरेको भन्दै उनले मानवअधिकार बिरुद्धको असामाजिक क्रियाकपाल सह्य नहुने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठूला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने धारणा राखे ।
नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थरुपमा मानव अधिकार स्थापित हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उनको भनाइ छ । उनले नेपालले मुत्युदण्डको सजायको व्यवस्था नअपनाउने स्पष्ट गर्दै दोषका आधारमा कडा भन्दा कडा सजाय दिन सकिने बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)द्वारा स्थापित रु एक लाख राशीको मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको थियो ।