
नवलपरासी - पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन गाउँपालिकास्थित नन्दन तालको नाउँमा रहेको एक सय १६ बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको छ ।
केही स्थानीयले नन्दन तालको जग्गा अतिक्रमण गरेपछि अहिले तालको चर्चा परिचर्चा हराउँदै गएको पाल्हीनन्दन गाउँपालिका–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले बताए ।
पाल्हीनन्दन गाउँपालिका–६ निवासी लौहर चमारका अनुसार तालमा माछा मार्नका लागि स्थानीयले दक्षिणतर्फको नाला खनेपछि तालको पानी बगेर सुक्दै गयो । सुक्खा भएको तालको जमिनमा केही जमिन्दारले खेती गर्न थालेका छन् । अहिले ताल सुकेर खेतको रूपमा परिणत भएको छ । ताल सुकेसँगै तालको स्वरूप फेरिएको छ । तालको नाम निसानै मेटिएको छ उनले भने ।
अहिले केही हुनेखाने समुदायले नन्दन तालको जग्गा अतिक्रमण गरेर गरीबलाई अधिया भन्दै जोतभोग गर्न दिएका छन् । एक सय १६ बिघाभन्दा बढी जग्गा नन्दन तालको नाउँमा दर्ता रहेको पाल्हीनन्दन गाउँपालिकाका अमिन हरेन्द्र यादवले बताए ।
तालको नक्सा बनाएर संरक्षणको अभियान अगाडि बढाएपछि नन्दन ताल अतिक्रमण गर्नेहरूले काममा अवरोध गर्ने प्रयास गरेको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।