Harsamaya
माथिल्लो अरुण जलविद्युत्को पहुँचमार्ग निर्माण सुरु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सङ्खुवासभा - भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँध स्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच मार्ग निर्माण सुरु भएको छ । 

पहुँच मार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिए । हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँच मार्ग निर्माण थालिएको हो ।  आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । 

भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा भुक्तानी भइसकेको छ । प्रशासन प्रमुख चौहानका अनुसार उक्त क्षेत्रमा जग्गाको मूल्य प्रतिरोपनी एक लाख ५० हजार तोकिएको थियो । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिने छन् । आयोजनाले बिरुवा रोप्न, हुर्काउन र बढाउन रु १३ करोड ६५ लाख वन विभागलाई भुक्तानी गरिसकेको छ । 

पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिनेछ । भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्म मार्ग निर्माण हुनेछ । पहुँच मार्ग निर्माण गर्न सात अर्ब ९१ करोड ३९ लाख विनियोजन गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update