Harsamaya
कांग्रेसमा शक्ति सन्तुलन फेरबदलले देउवा खेमामा हलचल : खाँण बने शेखरका सारथी!
रूपन्देहीको बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने कार्यक्रममा वरिष्ठ नेता डा. शेखर कोइराला र कांग्रेसका अन्य नेताहरू ।

काठमाडौं - नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा शक्ति सन्तुलन फेरबदलको संकेत देखिन थालेको छ। वरिष्ठ नेता डा. शेखर कोइराला दिनप्रतिदिन प्रभावशाली बन्दै गएका छन् । कोइरालाले सभापति शेरबहादुर देउवा नेतृत्वको परम्परागत गुटलाई दबाबमा पार्न थालेका छन्।

आगामी १५औँ महाधिवेशनलाई लक्ष्य गरी कोइराला देशव्यापी दौडाहामा जुटिरहेका छन्। यसै क्रममा रूपन्देहीको बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय बैठकमा उनले ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नारासहित उद्घाटन गरे। महाधिवेशनका लागि व्यापक तयारीमा रहेका कोइरालाको पक्षमा प्रभावशाली नेताहरूको समर्थन बढ्दै गएपछि कांग्रेसमा नयाँ शक्ति समीकरणको संकेत प्रस्ट देखिएको छ।

DR-shekhar-koirala-(1)-1740918221.png
 

विशेषगरी देउवाका विश्वासपात्र मानिने नेताहरू कोइराला खेमामा ओइरिन थालेपछि सत्ता समीकरण चकित पार्ने मोडतर्फ उन्मुख भएको छ। एनपी साउद, बालकृष्ण खाँण, मोहन बस्नेत, डिला संग्रौला, पुष्पा भुषालजस्ता देउवा खेमाका मुख्य अनुहारहरू कोइरालासँग देखिनुले पार्टीभित्र गहिरो तरंग ल्याएको छ। पछिल्लो समय देउवाकै गृह जिल्ला डडेल्धुराका प्रभावशाली युवा नेता नैनसिंह महर समेत कोइरालासँगै देखिन थालेका छन् । जसले देउवा खेमालाई थप विचलित बनाएको छ।

कोइरालाले विधानमै आधारित रहेर नेतृत्व परिवर्तन हुनैपर्छ भन्ने सन्देश प्रवाह गर्दै कार्यकर्तामा सशक्त प्रभाव पारिरहेका छन्। मुलुकभरको भ्रमणका क्रममा उनले आफूलाई कार्यकर्ताको अभूतपूर्व समर्थन मिलेको दाबी गरेका छन्।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update