
काठमाडौं - शिवरात्रिको बिहान अचानक पानी बोकेको ट्याङ्कर धादिङमा दुर्घटना हुन्छ । दुर्घटनामा गजुरी गाउँपालिका ६ बस्ने १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँ बस्ने जयराम चेपाङको घटनास्थलमै मृत्यु हुन्छ । घाइतेहरूको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार हुन्छ र उनीहरूलाई जिल्ला अस्पताल धादिङ लगिन्छ ।
धादिङको गुप्तेश्वरीमा लागेको मेलामा पानी पुर्याउन जाँदा ट्याङ्कर दुर्घटनामा परेको हुन्छ । जहाँ गाडीका चालकसहित पाँच जना सवार हुन्छन् । दुई जनाको मृत्यु हुन्छ भने दुई जना घाइते हुन्छन् । घाइतेमध्ये गजुरी गाउँपालिका–६ बस्ने १९ वर्षीय सिरिस चेपाङ गम्भीर घाइते हुन्छन् । उनीसँगै १७ वर्षीय सुरेश चेपाङको आँखामा चोट लागेको हुन्छ ।
धादिङ जिल्ला अस्पतालका अनुसार सुरेशलाई त्यहीबाट डिस्चार्ज गरिन्छ भने गम्भीर घाइते सिरिसलाई ट्रमा सेन्टर काठमाडौं रिफर गरिन्छ । यद्यपि जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले दुवैलाई ट्रमा रिफर गरिएको बताएका थिए । बिहान २ बजे आसपास दुर्घटना भएपनि बिहान ८ बजे घाइतेहरू ट्रमा पुग्छन् । सिरिसको ट्रमा सेन्टरले भर्ना गरेर उपचार सुरु गर्छ । तर आइसीयू नहुँदा उनको उपचारमा समस्या हुन्छ ।
अस्पताल प्रशासनले उनका आफन्तलाई आइसीयू भएको अस्पताल चाहिने हुँदा टिचिङ लान भन्छन् । उता सुरेश भने यतिकै घर फर्कन्छन् । उनको न भर्ना गरिन्छ न उपचार । तर अस्पताल र प्रहरीले भने उनी शिवरात्रिकै दिन साँझ ६ बजेर ३० मिनेटमा ट्रमाबाट डिस्जार्च भएर घर फर्किसकेको बताउँछन् ।
फागुन १४ राति १० बजेतिर सिरिसलाई टिचिङ लगेको प्रहरीले बतउँछ । उनी टिचिङमा रहेको प्रहरीले बताएपनि टिचिङ पुग्दा त्यो नाम गरेको बिरामी नभएको टिचिङ अस्पताल प्रशासनले बताउँछ । प्रहरी केस भएकाले प्रहरीसँग बुझ्दा उनी टिचिङमै रहेको बताइन्छ । तर उनी त्यहाँ हुँदैनन् । त्यसपछि सरकारी अस्पताल खोज्दै जाँदा सिरिसको उपचार केएमसी अस्पताल सिनामंगलको बेड नम्बर ५०४ मा भइरहेको हुन्छ ।
अस्पतालको आइसियुमा राखेर उनको उपचार हुन्छ । उनका आफन्त खोज्दै जाँदा दाइ रामशरण चेपाङ भेटिन्छन् । उनी सिरिसको कुरुवा हुन्छन् । गम्भीर घाइते सिरिसको उपचारमा अहिलेसम्म कसैले चासो दिएको छैन । परिवारले जेनतेन उनको उपचार गरिरहेको उनी बताउँछन् । सिरिसको नशामा समस्या देखिएको चिकित्सकले बताएको उनले जानकारी दिए ।
ट्याङकर कुनै निर्माण कम्पनीको भएको हुनाले कम्पनीका मानिसहरू आउँछु भनेर सम्पर्क गरिरहेको उनी बताउँछन् । कसरी यहाँ आइपुग्नु भयो भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘ट्रमाले टिचिङ जानु भन्नुभयो टिचिङमा आइसीयु थिएन अनि बुझ्दै जाँदा यहाँ पाएर ल्याएको ।’
सुरेश चेपाङको पनि आँखामा चोट लागेको भएपनि उनी उपचारै नगरी फर्केको राम शरणको दाबी छ । आफ्नो भाइ मेला हेर्न जाने क्रममा दुर्घटनामा परेको उनी बताउँछन् । गत फागुन १४ गते बागमती प्रदेश ०१-००४ क२५५२ नम्बरको ट्याङ्कर ब्याक गर्ने क्रममा अनियन्त्रित भइ ६ सय मिटर तल खसेको थियो ।
यो घटनाले सरकारी कार्यालयहरूबीच समन्वय पटक्कै नभएको देखिन्छ । सरकारी कार्यालयहरू प्रहरी कार्यालय र अस्पतालहरूबीच समन्वय हुँदैन । जसका कारण धादिङ जिल्लाले डिस्चार्ज गरेको बिरामी काठमाडौं आइपुग्छ अनि काठमाडौंमा अस्पतालले उपचारै नगरी डिस्जार्च गरेको बताउँछ ।
अर्को कुरा सिरियस खालका बिरामीहरू ल्याउँदा पनि आइसीयु छैन भनेर देशकै ठूलो सरकारी अस्पतालको देखाउने रवैया दुखलाग्दो छ । मानिस घाइते भएर छटपटिदा पनि आइसीयू छैन भन्नु, यो अस्पताल र त्यो अस्पताल दगुराउनुले नेपालमा स्वास्थ्य सेवा लिन सहज छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । कति बिरामीले चिकित्सकले भनेको पुर्याउन नसक्दा आफ्ना आफन्त गुमाउनु पर्ने हुन्छ ।