Harsamaya
कुञ्‍ज थिएटरमा 'दुःखी राजकुमारी'मञ्चन
ड्रामा।प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - टाइम्स इलिमेन्ट्री स्कुलको टाइम्स ड्रामा क्लबले प्रस्तुत गरेको नाटक 'दुःखी राजकुमारी' शनिबार कुञ्ज थिएटरमा मञ्चन भयो। विशेष रूपमा अभिभावकहरूका लागि आयोजना गरिएको यस नाटकले बाल प्रतिभाहरूको अभिनय क्षमतालाई उजागर गर्‍यो।

सुख आफ्नै मनभित्र लुकेको हुन्छ भन्ने सन्देश बोकेको नाटकमा, दुःखी राजकुमारीलाई एक जादुगरले कसरी खुसी बनाउँछ भन्ने कथालाई रोचक ढंगले प्रस्तुत गरिएको थियो। सुरज तमुको निर्देशनमा मञ्चन भएको नाटकमा कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरूले उत्कृष्ट अभिनय प्रदर्शन गरे।

स्कुलकी प्रिन्सिपल पल्पसा महर्जनका अनुसार अभिभावक दिवसका अवसरमा नाटक प्रस्तुत गर्दै आएको भए पनि पहिलो पटक थिएटरमा मञ्चन गरिएको थियो। रंगकर्मी टंक चौलागाईंले बालबालिकाले नाटकमा अभिनय गर्नु भविष्यका लागि महत्त्वपूर्ण हुने बताउँदै नाटकले उनीहरूलाई कुनै पनि भूमिकामा ढाल्ने क्षमता विकास गराउने धारणा राखे।

बालकलाकारहरूको लोभलाग्दो अभिनयले कुञ्ज थिएटरमा उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनायो।
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update