
भैरहवा - रुपन्देही लगायत १८ वटा जिल्लामा कुष्ठरोगका बिरामी भेटिएका छन्। रुपन्देहीमा मात्रै १७१ जना कुष्ठरोगका बिरामी छन् । कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नमा गरिने बेवास्ताका कारण कुष्ठरोगको नयाँ बिरामी फेला पर्ने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारी बताए ।
स्वास्थ्य कार्यालयका अनुसार गत आव २०८०/०८१ मा १६० जना कुष्ठरोगका बिरामी रहेको रुपन्देहीमा यस वर्षको साउनयता पुस महिनासम्ममा थप ८० जना नयाँ बिरामी फेला परेका छन् ।
यस अवधिमा १७१ जना बिरामी उपचाररत रहेको र अन्य निको भएको जनाइएको छ । रुपन्देहीमा सबैभन्दा धेरै ओमसतिया गाउँपालिका, गैडहवा, मायादेवी गाउँपालिका, सैनामैना, देवदह र तिलोत्तमा नगरपालिकामा कुष्ठरोगका बिरामी छन्।
पछिल्लो पटक शुद्धोधन, मायादेवी, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकामा र बुटवल उपमहानगरपालिकामा धेरै नयाँ बिरामी फेला परेका छन् । कुष्ठरोमका बिरामी र बिरामीको सम्पर्कमा आएका व्यक्तिको खोजपड्ताल कार्यक्रमलाई प्रभावकारीताका साथ निरन्तरता दिइएको अधिकारीले बताए।
कुष्ठरोग चिकित्सक स्वर्णिम ज्ञवालीले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कुष्ठरोग अर्को व्यक्तिबाट सर्ने गरेको र समाजमा अझै पनि कुष्ठरोगका बिरामी खुलेर नआउँदा श्वास प्रश्वासको माध्यमबाट परिवार तथा अर्कोलाई सार्ने क्रम जोखिम बढ्दो भएको बताए । नेपालम विसं २०६६ माघमा नेपालमा कुष्ठरोग उन्मूलनको घोषणा गरिएको थियो ।