
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रकृति लम्सालको परिवारसँग भेटघाट गरेका छन् । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत फेला परेकी लम्सालका परिवारसँग भेट गर्दै कोइरालाले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको बताएका हुन् ।
शनिबार रुपन्देही भैरहवास्थित लम्साल परिवारको घरमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेका छन् । उनले नेपाल सरकार र कांग्रेस पार्टीले यस घटनालाई अत्यन्तै गम्भीर रूपमा लिएको बताए।
भेटमा उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भइरहेको कोइरालाले सुनाए।
लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।