
काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन नहुने बताएका छन् ।
शनिबार विराटनगरमा एमाले मोरङको १०औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आफूहरू चीन र भारत दुबै छिमेकीसँग समान सम्बन्ध राख्ने कुरामा स्पष्ट रहेको बताउँदै नेपाललाई कुनै मुलुक विरुद्ध प्रयोग हुन दिन नहुने बताएका हुन् ।
उपमहासचिव ज्ञवालीले प्रत्येक मुलुकले उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले प्रस्तुत गरेको जिकिर गरे । युक्रेन विवाद र शक्ति राष्ट्रहरू बीचको द्वन्द्वले विकासोन्मुख र साना राष्ट्रहरूलाई सार्वभौमिकता र अखण्डता जोगाउन समस्या पर्ने गरेको दृष्टान्त प्रस्तुत गरेको उनले बताए ।
अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एमाले माथि चौतर्फी आक्रमण भईरहेकाले आन्तरिक प्रतिस्पर्धा भन्दा पनि एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे । उनले एमालेको स्थापनाकाल देखि नै महत्वपूर्ण जिल्ला भएकाले मोरङले सर्वसम्मत नेतृत्व चयन गरेर अन्यका लागि प्रेरणाको स्रोत बन्नुपर्ने उल्लेख गरे ।
तीन दिन सम्म आयोजना हुने सो अधिवेशनमा ९ सय १४ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ ।