
काठमाडौं - मधेस प्रदेशबाहेक देशका अधिकांश भूभागमा आज वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा भएको छ । ती प्रदेशका धेरै ठाउँमा हल्ला र मध्यम वर्षा भएको र केही ठाउँमा भारी वर्षा भएको हो ।
बागमती प्रदेशका केही जिल्लाहरूमा पनि वर्षा भएको छ । सिन्धुपाल्चोकका क्षेत्रमा अहिले पानी परिरहेको उनले बताए । कोशीका थोरै भूभागमा पानी परेको छ । आज राति पनि ठाउँठाउँमा वर्षा हुने र भोलि पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताए ।
महाशाखाका अनुसार आज रातिका लागि सुदूरपश्चिममा राति पनि वर्षाको सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र कोशीको थोरै ठाउँमा वर्षाको सम्भावना छ ।
मौसमविद् पुडासैनीले भने, ‘भोलि आजभन्दा केही कम छ तर बदली चाहीँ छ, भोलि काठमाडौंमा आजभन्दा केही सुधार मात्रै छ, दिउँसोतिर फाट्टाफुट्ट पानी पर्नसक्छ, मधेशमा बदली मात्रै छ, पर्सी आइतबारबाट खुल्छ ।’
कुन ठाउँमा कति पानी प-यो
उनका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
त्यसैगरी मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ । यता गण्डकी प्रदेशको मनाङमा हल्का १२.८, बारपाकमा १२.८, म्याग्दी १६.२ वर्षा भएको छ । यता बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंको कीर्तिपुरमा १.४, बुढानीलकण्ठमा १.२, सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिलिमिटर वर्षा उपत्यकामा भएको छ ।