
सप्तरी - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन् ।
जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेश आन्दोलनको जगमा निर्माण भएका दल भने विस्तारै विघटन उन्मुख भएकामा दुःख व्यक्त गरे ।
अध्यक्ष दाहालले सक्कली मधेशवादी आफ्नै दल भएको दाबी गरे । सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेशवादी दलले नै बन्न नदिएको उनको आरोप थियो ।
‘हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायौँ तर मधेशवादी भनिएका दलहरूले नै उहाँलाई हराए’, अध्यक्ष प्रचण्डले भने,‘विगतमा जे भए पनि अब माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।’
उनले मधेशको मुद्दा उठान पार्टीले अभियान सुरु गरेको बताए ।