
काठमाडौँ - नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। ८४ वर्षीया श्रेष्ठको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो।
शारदा महर्जन परिवारमा जन्मिएकी थिइन् र शंकरमान श्रेष्ठसँग प्रेम विवाह गरेकी थिइन्। २०२२ सालमा नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेपछि वकालत थालिन्।
भूमिसुधार विशेष अदालतमा काम सिक्दै गर्दा कानुन सचिव रामानन्दप्रसाद सिंहले न्यायाधीशका लागि आवेदन दिन सुझाए। सफल भएर उनी भूमिसुधार अदालत, कास्की र लमजुङका लागि नेपालको पहिलो महिला न्यायाधीश बनिन्।
४ दशक न्याय सेवामा बिताउँदै जिल्ला, पुनरावेदन हुँदै २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश बनिन्। उनी सर्वोच्च पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। २०६१ साल वैशाखमा सर्वोच्च अदालत प्रवेश गरेकी शारदा २०६५ जेठमा सर्वोच्चबाट सेवानिवृत्त भएकी थिइन्।
परिवारका अनुसार उनको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ।