
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर गए राति २:५१ बजे ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको झट्का जिल्लाभरि महसुस गरिएको थियो।
रातिको समयमा भूकम्प गएको कारण मानिसहरू आत्तिएर घर बाहिर निस्किए। केही समय त्रासदीपूर्ण वातावरण भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको पुष्टि भएको छैन। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, भोटेकोशी गाउँपालिका-३ तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। तर, उक्त स्थानमा मानव बस्ती नरहेकोले क्षति नभएको बताइएको छ।
भूकम्पको कारण दौडिँदा सिन्धुपाल्चोक कारागारमा रहेका एक जना कैदी लडेर दाहिने हातमा सामान्य चोट लागेको छ। उनलाई चौतारा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
भूकम्पपछिको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोलीलाई परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय कोदारीको एकतले जस्ता छानो भएको प्रहरी व्यारेकमा सामान्य क्षति पुगेको छ।
स्थानीयलाई सतर्कता अपनाउन आग्रह
भूकम्पपछिको असरले सुख्खा पहिरो तथा सडकहरूमा ढुंगा खस्ने जोखिम रहेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। कुनै अप्रिय घटना भएमा तत्काल नजिकको सुरक्षा युनिटमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ।
सिन्धुपाल्चोक प्रशासनद्वारा जारी प्रेस विज्ञप्ति :-