
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादक सङ्लग्नता भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा ‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो टेलिभिजन, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङ बोर्ड, भित्ते लेखन, लोगो सङ्केत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रममा समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइने छैन’ उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने बताए ।
मन्त्रालयले सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन, नियमावली र निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको ‘हेलो स्वास्थ्य कल सेन्टर १११५ मा दैनिक बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म तथा भाइवर, ह्वाट्अप नम्बर ९८५१३३०५९२ मा जानकारी गराउन अनुरोध गरेको छ ।