
काठमाडौं -जाजरकोट, बझाङ र डोटीमा पुनर्निर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना हुने भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले भूकम्पपछिको क्षति आकलन, पुर्ननिर्माण र पुर्नस्थापना गर्न पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना गर्ने निर्णय गरेको हो ।
आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको छ ।
गृहमन्त्री रमेश लेखले भूकम्पपछिको पुर्ननिर्माण एवं पुर्नस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको जानकारी दिए ।
बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरहरुको पुर्ननिर्माण एवं पुर्नस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको कार्य भएको उनले बताए ।
गृह मन्त्रालयले जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्य योजना ल्याएको छ । जाजरकोटमा गत २०८० कार्तिक, बझाङमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।